न्यूरो अस्पताल रजत जयन्ती वर्षको अवसरमा   अमृता हस्पिटलसँग सहकार्य, निःशुल्क स्वास्थ्य सेवा तथा CME कार्यक्रम सम्पन्न

विराटनगर, २० मंसिर २०८२।

न्यूरो अस्पतालले आफ्नो रजत जयन्ती वर्षको अवसरमा विभिन्न कार्यक्रममार्फत सेवाको गुणस्तर विस्तार गर्ने अभियानलाई अघि बढाइरहेको छ। अस्पतालले रजत वर्षलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम, प्रविधी तथा भौतिक पूर्वाधारमा लगानी, र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अस्पतालहरूसँग सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ। यसै क्रममा भारतको हरियाणा, फरिदाबादस्थित अमृता हस्पिटलसँग भएको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

अमृता हस्पिटल २६०० शैयासहित भारतकै सबैभन्दा ठूलो गैर–सरकारी अस्पताल मानिन्छ, जहाँ ५०० भन्दा बढी आईसीयू तथा एचडीयू शैया रहेका छन्। विश्वप्रसिद्ध आध्यात्मिक तथा मानवीय नेतृ श्री माता अमृतानन्दमयी देवी ‘अम्मा’द्वारा स्थापित यो अस्पताल अत्याधुनिक प्रविधी, रोबोटिक सर्जरी, अंग प्रत्यारोपण लगायत आधुनिक उपचार सेवाको अग्रस्थानमा रहेको छ।

यसै सहकार्यअन्तर्गत न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले हिजो न्यूरोलोजी (टाउको तथा नसा) र पल्मोनोलोजी (फोक्सो तथा दम) विषयमा नियमित मेडिकल शिक्षा (CME) कार्यक्रम सफलता साथ सम्पन्न गरेको छ। कार्यक्रममा अमृता हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट प्रा. डा. सञ्जय पाण्डे तथा वरिष्ठ पल्मोनोलोजिस्ट डा. सौरभ पाहूजाले विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रममा कोशी तथा मधेश प्रदेशका ६० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता थियो। सहभागी चिकित्सकहरूले यस्ता कार्यक्रममा नवीन चिकित्सा प्रविधीबारे ज्ञान आदान–प्रदान भई स्वास्थ्य क्षेत्र समृद्ध हुन सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

यसैक्रममा आज निःशुल्क ओपीडी क्याम्प सञ्चालन भइरहेको छ, जहाँ अमृता हस्पिटलका प्रा. डा. सञ्जय पाण्डे र डा. सौरभ पाहूजा, साथै न्यूरो अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार बिष्ट, डा. सुनन्द पौडेल लगायत चिकित्सकहरूले सेवा प्रदान गर्दैछन्।

अस्पतालका अनुसार अमृता हस्पिटलसँगको सहकार्यबाट कोशी तथा मधेश प्रदेशका बिरामीहरूले क्यान्सर उपचार, अंग प्रत्यारोपण तथा रोबोटिक सर्जरीजस्ता उच्चस्तरीय सेवा भारतकै प्रतिष्ठित अस्पतालमा सुलभ मूल्यमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

अन्त्यमा, न्यूरो अस्पतालले रजत वर्षभरि साथ र सहयोग गर्दै आएका सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेको छ।