मोरङको जहदामा पोखरीमा महिला मृत अवस्थामा फेला

विराटनगर । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित एक पोखरीमा शनिबार बिहान एक महिलाको शव भेटिएपछि स्थानीय क्षेत्रमा सामान्य तनाव पैदा भएको छ।

पोखरीमा डुबेको अवस्थामा भेटिएकी महिला जहदा–४ बस्ने ६० वर्षीया डोमा महतो रहेको मोरङ प्रहरीले पुष्टि गरेको छ। बिहान करिब ८ बजेतिर स्थानीयले देखेपछि जानकारी गराएको र प्रहरी टोली घटनास्थल पुगेको निमित्त प्रवक्ता इन्स्पेक्टर लेखनाथ दाहालले बताए।

उनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।

महतो पोखरीमा कसरी पुगेकी थिइन् भन्ने विषयमा प्रारम्भिक तथ्य स्पष्ट हुन बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।