न्यूरो अस्पताल र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उन्नतिको ऐतिहासिक सहकार्य सम्झौता

विराटनगर, २१ मंसिर २०८२।
न्यूरो अस्पतालले आफ्नो रजत जयन्ती वर्षको अवसरमा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यसहित नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पतालसँग सहकार्य गर्ने समझौता गरेको छ।

रजत वर्षमा अस्पतालले विभिन्न निःशुल्क स्वास्थ्य शिविर, जनसचेतना कार्यक्रम, प्रविधि तथा भौतिक संरचना सुदृढीकरणलगायतका गतिविधि सञ्चालन गरिरहेको छ। सोही श्रृंखलामा प्रदेशको पहिलो निजी स्तरको मेडिकल कलेज नोवेलसँग गरिएको सहकार्यलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ।

दुई दशकदेखि सेवा दिँदै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पताल ७५० शैयासहित आधुनिक प्रविधियुक्त उपचार पद्धतिमार्फत सेवा प्रदान गर्दै आएको छ। १०० भन्दा बढी दक्ष चिकित्सक तथा विशेषज्ञहरूको उपस्थितिले यसलाई प्रदेशकै विश्वसनीय स्वास्थ्य शिक्षालय र उपचार केन्द्रको रूपमा स्थापित गरेको छ।
लोकप्रिय राजनीतिज्ञ तथा समाजसेवी डा. सुनिल शर्माको संरक्षकत्वमा सञ्चालित यस अस्पतालले हालै क्यान्सर उपचारमा अत्याधुनिक प्रविधि भित्र्याउँदै थप सेवा विस्तार गरेको छ।

सहकार्यको मुख्य उद्देश्य

दुवै अस्पतालले सहकार्यमार्फत प्रतिस्पर्धाभन्दा पनि साझा प्रयासले मात्र स्वास्थ्य सेवामा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन्। सम्झौताका प्रमुख उद्देश्यहरू यसप्रकार छन्:

  • क्यान्सरका विरामीलाई समयमै, सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने

  • चिकित्सक, स्वास्थ्यकर्मी, नर्स तथा कर्मचारीहरूको सीप विकास तालिम सञ्चालन

  • दुवै संस्थाले संयुक्त रूपमा मेडिकल शिक्षा, कार्यशाला, अभिमुखिकरण कार्यक्रम सञ्चालन

  • न्यूरो अस्पतालका बिरामीलाई क्यान्सर सम्बन्धी उपचार चाहिएको खण्डमा नोवेलसँग समन्वय र प्राथमिकता सेवा

  • परामर्श तथा उपचार खर्चमा नोवेल मेडिकल कलेजबाट छुट सुविधा

  • दुवै अस्पतालको सहकार्यले बिराटनगरलाई स्वास्थ्य हबको छविलाई अझ मजबुत बनाउने

प्रदेशका जनताका लागि सुविधा

सम्झौतापछि कोशी र मधेश प्रदेशका नागरिकलाई क्यान्सर उपचार सहज, किफायती र नजिकै पाउने वातावरण बन्ने दुवै अस्पतालले विश्वास व्यक्त गरेका छन्। सहकार्यले सामान्य स्वास्थ्य सेवा र आपतकालीन उपचारमा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ।

पत्रकार प्रति आभार

न्यूरो अस्पतालले आफ्नो निरन्तर रजत यात्रामा पत्रकारहरूले दिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।