मोरङ, लेटाङ — मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ। कक्षा ५ मा अध्ययनरत अंशु गत असोज २१ गते घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्।
बेपत्ता भएपछि व्यापक खोजी
अंशु हराएको भोलिपल्ट २२ असोजमा उनका बुबा नबिन गौतमले इलाका प्रहरी कार्यालय लेटाङमा उजुरी दर्ता गराएका थिए। उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत देशभरका सबै प्रहरी इकाइमा हुलिया परिपत्र गरिएको थियो।
प्रहरी, स्थानीय, परिवारजन र नेपाली सेनासमेतको सहभागितामा जंगल तथा आसपासका क्षेत्रमा निरन्तर खोजी कार्य भएको थियो।
जंगलमा शरीरका अंश फेला
मंसिर ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ साझेदारी वनमा घाँस काट्न गएका स्थानीयले शङ्कास्पद अवस्थाको शरीरका केही भाग फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोली र केन्द्रीय अनुसन्धान समूह घटनास्थल पुगेपछि संकलित अवशेष परीक्षणका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो।
पीडितका बुबाले घटनास्थलमा भेटिएका चप्पल, लुगा र घडीबाट अंशुको पहिचान सुनिश्चित भएको बताए।
यो घटनामा संकलित नमूनाहरू डीएनए परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आउन बाँकी छ।
३०० भन्दा बढी व्यक्तिको सोधपुछ
घटनापछि प्रहरीले घर–छिमेक, विद्यालय, गाउँमा घुमफिर गर्ने तथा जंगलमा दाउरा–घाँस काट्न जाने सबै व्यक्तिबारे विस्तृत अनुसन्धान गरेको थियो।
सोधपुछको दायरामा ३०० भन्दा बढी व्यक्ति परे भने ५४ जनाबाट लिखित बयान लिएको प्रहरीले जनाएको छ।
५९ वर्षीय पदम बहादुर अधिकारी पक्राउ
अनुसन्धानको क्रममा प्रहरीले मोरङ लेटाङ–२ फडानीका ५९ वर्षीय पदम बहादुर अधिकारीलाई मंसिर १९ गते घरबाटै पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार घटनाको दिन आरोपीले अंशुलाई जंगलको भित्री भागमा लगेपछि उनको हत्या गरेको प्रारम्भिक बयानमा आएको प्रहरीको दाबी छ।
प्रहरी अनुसार अंशुलाई विद्यालय नजिकै खेलिरहेको अवस्थामा भेटेका अधिकारीले लालच दिएर जंगलतिर लगेका थिए।
कानूनी प्रक्रिया अघि बढ्दै
घटनामा ज्यान सम्बन्धी र करणीसम्बन्धी कसुर अन्तर्गत
-
मुलुकी अपराध संहिता २०७४ को
-
दफा १७७ (ज्यानसम्बन्धी),
-
दफा २१९ (जबरजस्ती करणी)
अनुसार मुद्दा दर्ता गरिएको छ।
-
यसबाहेक संहिताको दफा ९४(१०) का उपदफा (क) र (च) अनुसार पनि थप कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
डीएनए रिपोर्टपछि थप तथ्य स्पष्ट हुने
प्रहरीका अनुसार डीएनए परीक्षण रिपोर्ट आएपछि घटनाबारे थप वैज्ञानिक प्रमाणहरु प्राप्त हुनेछन्।
हाल जिल्ला प्रहरी कार्यालय मोरङ, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र कोशी प्रदेश प्रहरीको संयुक्त टोलीले विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ।