विराट मेडिकल कलेजमा क्याबिनसहित १६ शैयाको नयाँ CCU सेवा सुरु

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो मुटु रोग उपचार सेवा विस्तार गर्दै अत्याधुनिक सुविधा सम्पन्न १६ शैयाको नयाँ सिसियु (CCU) सेवा सञ्चालनमा ल्याएको छ। यसअघि ९ शैया रहेको CCU विस्तार हुँदै अब क्याबिनसहित कुल २५ शैयाबाट सेवा प्रदान गर्ने भएको हो।

दोस्रो तल्लामा निर्माण गरिएको नयाँ CCU को वरिष्ठ मुटु रोग विशेषज्ञ प्रो. डा. प्रशान्त साह र डा. माधव विष्टले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका छन्। हस्पिटलका अनुसार यो सेवा सुरु भएपछि पूर्वी नेपालभरिका मुटु रोगीले अझ सहज, द्रुत र गुणस्तरीय उपचार पाउनेछन्।

मुटु रोगीका लागि विश्वसनीय उपचार केन्द्र बन्दै विराट मेडिकल

विराट मेडिकल कलेज पछिल्लो समय मुटु रोग उपचारका लागि पूर्वाञ्चलको भरपर्दो केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।
हस्पिटलमा दैनिक १४० भन्दा बढी बिरामीले मुटु सम्बन्धी परामर्श तथा जाँच गराइरहेका छन्।

त्यसैगरी हस्पिटलको क्याथ ल्याबमा मासिक १५० भन्दा बढी बिरामीले विशेष उपचार सेवा लिने गरेका छन्। यहाँ उपलब्ध प्रमुख सेवा–सुविधामा—

  • कोरोनरी एन्जियोग्राफी

  • एन्जियोप्लास्टी

  • पर्मानेन्ट पेसमेकर इम्प्लान्टेसन

  • PTMC (भल्भ सम्बन्धी उपचार)
    जस्ता सेवा समावेश छन्।

सहज उपचारका लागि विभिन्न सुविधा उपलब्ध

हस्पिटलले मुटु रोगका बिरामीलाई लक्षित गरी स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोष, ज्येष्ठ नागरिक उपचार सुविधा, भूतपूर्व सैनिक, सामाजिक सुरक्षा कोषलगायतका माध्यमबाट उपचार लिन सकिने व्यवस्था मिलाएको छ।

उपचारका लागि हेल्पलाइन

मुटु रोगसम्बन्धी परामर्श तथा जानकारीका लागि हस्पिटलले मुटु रोग विभागको हेल्पलाइन ९७६१०२४७७० मा सम्पर्क गर्न सकिने जनाएको छ।