विराटनगर, मंसिर २१ — नेपाल युवा संरक्षक मञ्चले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। डिजिटल प्रविधिको तीव्र विस्तारसँगै बढ्दै गएको अनलाइन जोखिमबारे विद्यार्थीमा सतर्कता जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
डिजिटल दुव्र्यवहारका जोखिम र समाधानमा ध्यान
कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले पछिल्लो समय अनलाइन दुव्र्यवहार, साइबर बुलिङ र लैंगिक हिंसाका नयाँ रूप बढ्दै गएको बताउँदै बालबालिका र किशोरीलाई सुरक्षित डिजिटल वातावरण बनाउनु सबैको जिम्मेवारी भएको औंल्याइन्।
उहाँका अनुसार कार्यक्रमले सहभागी विद्यार्थीलाई अनलाइनमा कसरी सुरक्षित रह्ने, गोपनीयता कसरी जोगाउने र जोखिम देखिए तत्काल कसलाई सूचित गर्ने भन्नेबारे व्यवहारिक जानकारी प्रदान गरेको छ।
साइबर अपराधका प्रभावबारे प्रस्तुति
नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ महिला उद्यम समिति की निवर्तमान अध्यक्ष सुनिता छाराहाङले साइबर अपराधका कारण बालबालिका र महिला कसरी प्रभावित हुन्छन् भन्ने विषयमा प्रस्तुति दिइन्।
उहाँले डिजिटल माध्यमको सकारात्मक उपयोग र दुरुपयोग दुबै सम्भावना रहेको बताउँदै सानो गल्तीकै कारण ठूलो समस्यामा पर्नसक्ने भन्दै सावधानीका उपायहरू स्पष्ट पारिन्।
विद्यालयस्तरमै डिजिटल सचेतना आवश्यक : प्रधानाध्यापक
विद्यालयका प्रधानाध्यापक रमेश नेपालले विद्यार्थीहरूको द्रुत बढ्दो इन्टरनेट पहुँचसँगै जोखिमसमेत बढेको हुँदा यस प्रकारका कार्यक्रम বিদ্যালयमै नियमित हुनुपर्ने बताउनुभयो।
उहाँले विद्यार्थीलाई प्रविधिलाई सीप, सिकाइ र सशक्तिकरणका लागि प्रयोग गर्नुपर्छ भन्दै अनलाइन दुव्र्यवहार देखिए तुरुन्त विश्वसनीय वयस्क वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरे।
विद्यार्थीमा व्यवहारिक चेतना विकासको अपेक्षा
आयोजकका अनुसार अन्तरक्रियाले सहभागी विद्यार्थीलाई गोपनीयता सेटिङ, सुरक्षित पासवर्ड, अनलाइन मित्रता जोखिम, डिजिटल शिष्टाचार र अनलाइन हिंसा रोकथामका व्यवहारिक विधिहरू सिकाएको छ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको उपस्थिति उल्लेख्य थियो।
