विराटनगरमा ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको आकर्षण, सहभागी बालबालिका ३४१ पुगे

विराटनगर – आयुर्वेदिक स्वास्थ्य सेवाप्रति अभिभावकको चासो बढ्दै गएको संकेतस्वरूप विराटनगरमा सञ्चालन गरिएको ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रममा सहभागी बालबालिकाको संख्या ३४१ पुगेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै नियमित रूपमा यो सेवा प्रदान गर्दै आएको छ।

केन्द्रका कार्यालय प्रमुख डा. राम प्रवोध चौधरीका अनुसार मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट तयार गरिने यो विशेष आयुर्वेदिक थोपाले बालबालिकामा बौद्धिक विकास, मानसिक तथा सामाजिक क्षमता वृद्धि, साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने विश्वास गरिएको छ।

कार्यक्रम प्रारम्भको दिन १६० बालबालिकाले ‘स्वर्ण विन्दु प्राशन’ सेवन गरेका थिए। निरन्तरता दिएको केन्द्रमा आज १८१ नयाँ बालबालिकाले सहभागी भएपछि कुल संख्या ३४१ पुगेको डा. चौधरीले जानकारी दिए। पुनःसेवन गर्ने (follow-up) बालबालिकाको संख्या पनि स्थिर रूपमा बढिरहेको केन्द्रको भनाइ छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रमार्फत ‘स्वर्ण विन्दु प्राशन’ उपलब्ध गराउने योजना अघि सारेसँगै मोरङमा पनि कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाइएको केन्द्रले जनाएको छ।

विराटनगरमा अभिभावकहरूको उत्साहजनक सहभागिताले वैकल्पिक स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्दै गएको देखिन्छ।