सुनसरी, मंसिर २२ गते।
सुनसरीको रामधुनी नगरपालिका–२ का ४५ वर्षीय सिटी रिक्सा चालक दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेर फरार रहेका ७ जनाको समूहलाई प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ।
असोज २५ गते साँझ करिब ५:२० बजे रामधुनी–२ कर्मनिया टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरूले गोली प्रहार गरेपछि चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीले खोजतलास शुरू गरेको थियो।
पक्राउ परेका अभियुक्त
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू यसप्रकार छन्–
-
राजेश उर्फ राजकिशोर साह (४३), रामधुनी–१
-
नन्द किशोर साह (४०), रामधुनी–१
-
मोहमद इब्रान मिया (३४), भोक्राहा नरसिंह–५
-
गियास मन्सुरी (३७), देवानगञ्ज–४
-
मिथलेश यादव (२५), देवानगञ्ज–५
-
अंकित साह (२८), राजविराज–१६
-
प्रिन्स कुमार दास (२८), राजविराज–९
हत्या योजनाको कारण
अनुसन्धानका क्रममा हत्या योजनाबद्ध रूपमा गरिएको खुलेको प्रहरीले जनाएको छ। मृतक चौधरीले तन्त्र–मन्त्र गरी परिवारका सदस्यलाई लामो समयदेखि बिरामी बनाएको भन्ने आरोपपछि
राजकिशोर साह र नन्द किशोर साहले योजनाबद्ध रूपमा मोहमद इब्रान मिया लगायतका व्यक्तिहरूसँग रकम लेनदेन गरी हत्या गराउने योजना मिलाएको बयानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
कानुनी प्रक्रिया अघि बढ्दै
मंसिर १७ गते सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्दै अभियुक्तहरूलाई थप अनुसन्धानका लागि प्रहरीले थुनामा राखेको छ।
प्रहरीले घटनामा अन्य कसैको संलग्नता छ कि छैन भन्नेबारे पनि अनुसन्धान तीव्र पारेको जनाएको छ।