पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन

पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन

विराटनगर, 
विराटनगर महानगरपालिका–९ निवासी, मोरङका वरिष्ठ राजनीतिज्ञ तथा पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको आज निधन भएको छ । उहाँको निधनले मोरङसहित समग्र राजनीतिक क्षेत्र शोकाकुल बनेको छ ।

स्वर्गीय मण्डल पञ्चायतकालमा पटक–पटक विभिन्न मन्त्री पदमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ लामो समयसम्म राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आउनुभएको एक अनुभवी र प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो ।

राजनीतिक जीवनको उत्तरार्धमा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भई सक्रिय राजनीतिमा संलग्न रहनुभएको थियो । पछिल्लो समय भने उक्त पार्टी परित्याग गरी सद्भावना पार्टीमा आवद्ध हुनुभएको थियो । उहाँको राजपरिवारसँग नजिकको सम्बन्ध रहेको बताइन्छ ।

स्वर्गीय मण्डलको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उहाँको निधनले नेपाली राजनीतिले एक अनुभवी तथा समर्पित नेताको अभाव महसुस गरेको प्रतिक्रिया व्यक्त गरिएको छ ।