विराटनगरमा १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ९ देखि  ६१ विद्यालयका १,५२५ विद्यार्थी सहभागी, महानगरले १० लाख बजेट विनियोजन

विराटनगर, पुस ८ गते ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ पुस ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ ।

विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन हुने यस प्रतियोगितामा महानगरभित्र सञ्चालित ६१ निजी तथा सामुदायिक विद्यालयका १ हजार ५ सय २५ विद्यार्थी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितालाई महानगरभित्रकै सबैभन्दा ठूलो विद्यालयस्तरीय खेलकुद उत्सवका रूपमा लिइएको छ ।

पालिकास्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा रहेको महानगरपालिकाले जनाएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत तथा १८ वर्ष उमेर ननाघेका विद्यार्थी खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन पुस ९ गते बुधबार नगर प्रमुख नागेश कोइरालाले गर्नेछन् भने समापन पुस ११ गते शुक्रबार हुनेछ ।

प्रतियोगितामा भलिबल र कबड्डी (छात्र–छात्रा), ट्र्याक तथा फिल्ड एथलेटिक्स (१००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, रिले दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो र सटपुट), मार्सल आर्ट्स, तेक्वान्दो तथा उसुका विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा हुनेछन् ।

ट्र्याक तथा फिल्डका खेलहरू सहिद रंगशाला विराटनगरमा, तेक्वान्दोका खेलहरू फ्युजन तेक्वान्दो तालिम केन्द्रमा तथा अन्य खेलहरू सहिद मैदान नजिकको कभर्ड हलमा सञ्चालन गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि विराटनगर महानगरपालिकाले रु. १० लाख बजेट विनियोजन गरेको छ । बजेट अपुग भएमा संयोजक विद्यालय एभरेष्ट माध्यमिक विद्यालयले थप व्यवस्थापन गर्ने जनाएको छ । सम्पूर्ण खेलका विजयी खेलाडीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरिनुका साथै भलिबल र कबड्डीका उत्कृष्ट तीन विद्यालयलाई ट्रफी प्रदान गरिनेछ । सबै खेलमा प्राप्त स्वर्ण पदकको आधारमा प्रथम हुने विद्यालयले रनिङ शिल्ड प्राप्त गर्नेछ ।

यस अवसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले निजी र सामुदायिक विद्यालयका विद्यार्थीबीच एकैसाथ प्रतिस्पर्धा गराउनु व्यवहारिक हो कि होइन भन्ने प्रश्न उठाएका थिए । पत्रकारहरूले निजी विद्यालयमा सानैदेखि खेलकुद अभ्यास हुने र अतिरिक्त शुल्क लिइने भएकाले सामुदायिक विद्यालयका विद्यार्थीहरू प्रतिस्पर्धामा कमजोर पर्ने तर्क गरेका थिए ।

जवाफमा नगर प्रमुख नागेश कोइरालाले सरकारी र निजी विद्यालयका विद्यार्थीलाई महानगरपालिकाले समान दृष्टिले हेर्ने स्पष्ट पार्दै सबै विद्यार्थीलाई समान अवसर दिनु नै महानगरको नीति रहेको बताए । “मेरो लागि सरकारी र निजी विद्यालयका विद्यार्थी बराबर हुन्, त्यसैले सबैका लागि यो बजेट खर्च गरिएको हो,” उनले भने ।