विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोको सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत गरिएका आइडियामध्ये चार उत्कृष्ट आइडिया छनोट भएका छन्।
संघले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ आइडियामध्ये १३ बाट निर्णायक मण्डलले चार आइडियालाई उत्कृष्ट ठहर गरेको हो। छनोटमा परेका सहभागीहरूले अब ‘आइडिया स्टुडियो’ सिजन–९ मा सिधा प्रवेश पाएका छन्।
संघका अनुसार आह्वानपछि कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आइडिया दर्ता भएका थिए। तीमध्ये बुट क्याम्पमा सहभागी भई अन्तिम १५ आइडिया छनोट गरिएको थियो।
विराट एक्स्पो स्थलमा दैनिक आयोजना भइरहेको थिमेटिक सेसनका क्रममा आइडिया पिच गर्नेहरूमध्ये विष्णु पोखरेल, जीवन कुशवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले प्रस्तुत गरेका आइडिया उत्कृष्ट ठहरिएका हुन्।
उनीहरूको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रूपान्तरण गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्ने संघका अध्यक्ष अनुपम राठीले बताए।
