२० वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७३ साल चैत २७ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय सुनाइएका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ निवासी ४६ वर्षीय डि.बी. भनिने डिगबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राई विगत ९ वर्षदेखि फरार रहँदै आएका थिए। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८२ साल पुस १६ गते लुकिछिपी बसेको अवस्थामा आफ्नै घर–वतनबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि सम्मानित मोरङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक कोपिला चुडालद्वारा जारी प्रेस विज्ञप्तिमा कानून कार्यान्वयन र फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।