विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय, श्रम बजार र रोजगारीसँग सम्बन्धित समसामयिक विषयमा दैनिक रूपमा छलफल कार्यक्रम हुँदै आएका छन्।
कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, सिटिईभिटी, नेपाल विद्युत प्राधिकरण, उद्योगी व्यवसायी तथा गार्मेन्ट क्षेत्रका श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलको सहजीकरण नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना (दोस्रो चरण) का अनुगमन तथा नतिजा मापन विशेषज्ञ प्रेमकुमार मग्रातीले गरेका थिए।
छलफलमा सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझाले सिटिईभिटीले विभिन्न सीप विकास कार्यक्रममार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको जानकारी गराए। एचए, स्टाफ नर्स, सब–ओभरसियरलगायत मध्यम तथा निम्न तहका प्राविधिक जनशक्ति उत्पादनमा सिटिईभिटीको महत्वपूर्ण योगदान रहेको उनले बताए। गत वर्षदेखि औद्योगिक प्रशिक्षार्थी, होटल म्यानेजमेन्टलगायतका कार्यक्रम थप गरिएको उल्लेख गर्दै उनले उत्पादन र सेवा क्षेत्रमा रियल वर्कमा आधारित अध्ययन मोडेल लागू गरिएको बताए। “यसले उद्योगलाई आवश्यक जनशक्ति सहज रूपमा उपलब्ध गराउन सहयोग गर्छ,” उनले भने।
मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैनले श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव रहेको उल्लेख गरिन्। “विद्यार्थीले काम नपाएको गुनासो गर्छन्, उद्योगले जनशक्ति नपाएको भन्छन्—यो स्पष्ट विरोधाभास हो,” उनले भनिन्। सर्टिफिकेटसँगै स्किल, नलेज र एटिच्युड उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै उनले धेरै उद्योगी बाध्य भएर बाहिरबाट जनशक्ति ल्याउनुपर्ने अवस्थामा पुगेको बताइन्। उद्योगमै तालिम दिएर पारिश्रमिक उपलब्ध गराउँदा पनि सीप सिकेपछि काम छाड्ने प्रवृत्ति चुनौतीको रूपमा रहेको उनको भनाइ थियो।
नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठले विद्युत उत्पादन, प्रसारण र वितरण क्षेत्रमा ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए। फिल्डमा काम गर्ने अधिकांश कर्मचारी सिटिईभिटीबाटै आपूर्ति हुने जानकारी दिँदै उनले इलेक्ट्रिसियन, प्लम्बिङ लगायतका क्षेत्रमा लेभल १, २ र ३ का जनशक्ति विज्ञापनमार्फत लिने गरिएको बताए। प्राधिकरण अटोमेसन र डिजिटल प्रणालीमा गइसकेकाले प्राविधिक सीप पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उनको जोड थियो।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले प्रदेश तहमा प्राविधिक तथा व्यवसायिक शिक्षाअन्तर्गत तीनवटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिइन्। युवालाई लक्षित गरी गुणस्तरीय तालिम सञ्चालन गरिएको बताउँदै उनले २४ महिनेमध्ये केही अवधि तलबसहितको तालिम र बाँकी सिकाइमा केन्द्रित मोडेल रहेको उल्लेख गरिन्। सीप प्रमाणीकरण सिटिईभिटीसँगको समन्वयमा भइरहेको र वैदेशिक रोजगारीमा जाने युवालाई पनि सीपयुक्त बनाउने उद्देश्य मन्त्रालयको रहेको बताइन्।
कार्यक्रममा सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याब्रिकेटर ललिता श्रेष्ठले हेल्परबाट सुरु गरी सीप परीक्षणमार्फत प्रमाणपत्र प्राप्त गरेर सुपरभाइजर बनेको अनुभव सुनाइन्। “सीप प्रमाणपत्रपछि मेरो काम र जिम्मेवारी दुवै बढ्यो,” उनले भनिन्। सहभागीहरूले स्थानीय तहमा समेत सीपयुक्त जनशक्तिलाई रोजगारीसँग जोड्नुपर्ने सुझाव दिएका थिए।