विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको नेतृत्वमा नरेशकुमार साह निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा साहले आफ्ना निकटतम प्रतिस्पर्धी नविन लामिछानेलाई एक मतको अत्यन्तै झिनो अन्तरले पराजित गर्दै सभापतिमा जित हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार साहले ४५ मत प्राप्त गर्दा लामिछानेले ४४ मत ल्याए। त्यस्तै प्रतिस्पर्धामा रहेका भुपेन्द्र बाह्रकोटीले २९ र डा. निरज मिश्रले १५ मत प्राप्त गरे। सभापति पदको नतिजा अन्तिम मत गणनासम्म रोचक बनेको थियो।
उपसभापतिमा दृष्टि वस्ती निर्वाचित भएकी छिन्। उनले ५३ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित जित हात पारिन्। उनका निकटतम प्रतिद्वन्द्वी जीवन थापाले ४६ मत र शंकरप्रसाद भण्डारीले ३४ मत प्राप्त गरे।
महासचिव पदमा भने डा. प्रशन्न दाहालले फराकिलो मतान्तरसहित विजय हासिल गरे। उनले ८६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी दुर्गाप्रसाद बास्तोला (देपेश) ले ४७ मतमा सीमित भए। सचिव पदमा पुकार चौधरी ७३ मतसहित विजयी भए भने दिक्षा पौडेलले ६० मत प्राप्त गरिन्।
कोषाध्यक्ष पदमा प्रमिला सिन्हा निर्वाचित भएकी छिन्। उनले ६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अविनाशकुमार मण्डलले ६३ मत ल्याए।
यसअघि नै आठ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। खुल्ला सदस्यतर्फ रोहित शर्मा र भोला नाथ लुईंटेल निर्विरोध निर्वाचित भए। महिला सदस्यतर्फ अस्मिता श्रेष्ठ निर्विरोध चुनिइन्। क्याम्पसगत प्रतिनिधित्वअन्तर्गत इञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदनबहादुर थापा, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेशकुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदिप के.सी. तथा जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोजकुमार मेहता निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनपछि नवनिर्वाचित नेतृत्वले प्राध्यापकहरूको हकहित, शैक्षिक गुणस्तर र विश्वविद्यालय सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।