विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका क्रममा भएको विवादपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ। घटनाले सीमावर्ती क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ) को गस्ती टोलीले भारत–नेपाल सीमा क्षेत्र नजिक गोली प्रहार गर्दा स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। सुनसरी प्रहरीका अनुसार घटना राति करिब १ बजेतिर भएको थियो। गोली चलेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र साहलाई मृत अवस्थामा फेला पारेको जनाइएको छ।
प्रारम्भिक जानकारीअनुसार साहले आफ्नो सिटी सफारीमा ८ देखि १० बोरा चिनी लोड गरी भारतबाट नेपालतर्फ ल्याइरहेका थिए। सोही क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले उनलाई रोकेपछि मालसामान ओसारपसारको विषयमा विवाद उत्पन्न भएको बताइएको छ। विवाद चर्किँदै जाँदा प्रहरीले गोली चलाएको र साहको घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ।
घटनापछि आक्रोशित स्थानीय बासिन्दाले शव उठाउन नदिँदा स्थिति तनावपूर्ण बनेको छ। स्थानीयले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै विरोध जनाइरहेका छन्। सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार स्थिति नियन्त्रणमा लिन र शव उठाउने विषयमा स्थानीयसँग वार्ता भइरहेको छ।
घटना भएको स्थान भारतीय सीमाबाट करिब ५०० मिटर भित्र रहेको जनाइएको छ। सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका नाममा बल प्रयोग भएको आरोप लागेपछि घटनाले थप संवेदनशीलता पाएको छ।
घटनाबारे सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोलीले अनुसन्धान सुरु गरेका छन्। प्रहरीले घटनाको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था सिर्जना भयो वा भएन भन्ने विषयमा छानबिन भइरहेको जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको कार्यशैली र तस्करी नियन्त्रणका क्रममा अपनाइने उपायमाथि पुनः प्रश्न उठाएको छ।