नक्कली नागरिकता कारोबारको पर्दाफास, झापामा एक युवक पक्राउ

विर्तामोड । झापामा नक्कली नागरिकता बनाउने र बिक्री गर्ने अवैध धन्दा भइरहेको खुलासा भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले गरेको विशेष निगरानीका क्रममा एक युवक नक्कली नागरिकतासहित पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार बिर्तामोड नगरपालिका–३ मा रहेको एक मिठाई पसलबाट शिवसताक्षी नगरपालिका–११ निवासी २३ वर्षीय पप्पु ठाकुरलाई नियन्त्रणमा लिइएको हो। उनीसँग नक्कली नागरिकताको कागजात फेला परेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार नक्कली नागरिकता किनबेच भइरहेको सूचनापछि सुराकी परिचालन गरिएको थियो। सुराकीमार्फत नागरिकता खरिद गर्ने नाटक गरी बोलाइएका ठाकुर नक्कली नागरिकता लिएर पुगेपछि पक्राउ परेका हुन्।

प्रारम्भिक अनुसन्धानबाट पूर्वी नेपाल क्षेत्रमा संगठित रूपमा नक्कली नागरिकता बनाउने गिरोह सक्रिय रहेको संकेत भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पक्राउ परेका युवकसँग राजगढ–५, सप्तरीको ठेगाना उल्लेख गरिएको नक्कली नागरिकता बरामद भएको छ।

घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रशासनले जनाएको छ। अनुसन्धानको क्रममा नक्कली नागरिकता बनाउने गिरोहको सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको पहिचान खुल्ने अपेक्षा गरिएको छ।