प्रभात सेकेण्डरीको शानदार जित, डिआइजी रनिङ कप फुटबलको उपाधि नजिक

धरान । कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरान फाइनलमा पुगेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा प्रभात स्कुलले पिना काल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि दौडमा स्थान बनाएको हो।

नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित खेलमैदानमा भएको खेलमा प्रभात स्कुलले सुरुदेखि नै दबाबपूर्ण खेल प्रदर्शन गरेको थियो। टिमका भुवन भण्डारीले पहिलो हाफको ७ औँ र दोस्रो हाफको १२ औँ मिनेटमा गोल गर्दै प्रभातलाई अग्रता दिलाए।

त्यसपछि दोस्रो हाफको २० औँ र २९ औँ मिनेटमा निम्साङ मगरले लगातार दुई गोल थपेपछि प्रभात स्कुलको जित सुनिश्चित भयो। पिना काल ज्ञान मन्दिरले खेलभर केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न असफल भयो।

उत्कृष्ट प्रदर्शन गरेका प्रभात स्कुलका भुवन भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित ८१ हजार ५ रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित ४१ हजार ५ रुपैयाँ हात पार्नेछ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको सहभागिता रहेको थियो।

अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।