काठमाडौँ । सन् २०२६ फिल्म प्रेमीका लागि विशेष हुने संकेत देखिन थालेको छ। विशेषगरी रोमान्टिक फिल्मका सौखिन दर्शकका लागि यो वर्ष यादगार बन्ने अपेक्षा गरिएको छ। प्रेम, भावना, युवा जोश र सम्बन्धका उतार–चढावलाई केन्द्रमा राखेर निर्माण गरिएका ६ बहुप्रतीक्षित रोमान्टिक फिल्मले २०२६ मा दर्शकको मन जित्ने तयारी गरिरहेका छन्।
‘डकैतः ए लभ स्टोरी’
अदिवी शेष र मृणाल ठाकुर पहिलो पटक एउटै पर्दामा देखिन लागेको फिल्म हो ‘डकैतः ए लभ स्टोरी’। प्रेमकथासँगै गहिरो भावनात्मक पृष्ठभूमि र बलियो कथावस्तु समेटिएको यस फिल्मलाई ईदको अवसरमा रिलिज गरिने तयारी छ। घोषणा भएदेखि नै फिल्मप्रति दर्शकको उत्साह उच्च देखिएको छ।
‘टक्सिक’
साउथ सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक’मा एक्सनसँगै रोमान्सको सशक्त मिश्रण देख्न पाइनेछ। यो फिल्ममार्फत यशले पहिलो पटक बलिउड र साउथका चर्चित अभिनेत्रीहरूसँग स्क्रिन सेयर गर्दैछन्, जसका कारण फिल्मलाई लिएर दर्शकको अपेक्षा झन् बढेको छ।
‘है जवानी तो इश्क होना है’
डेभिड धवनको निर्देशनमा तयार भएको रोमान्टिक ड्रामा फिल्म ‘है जवानी तो इश्क होना है’मा वरुण धवन मुख्य भूमिकामा छन्। वरुण पहिलो पटक पूजा हेगडे र मृणाल ठाकुरसँग देखिन लागेका छन्। रोमान्स र पारिवारिक मनोरञ्जनको संयोजन रहने यो फिल्मलाई २०२६ को प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ।
‘तू मेरी जिन्दगी है’
कार्तिक आर्यन र श्रीलीलाको नयाँ जोडी फिल्म ‘तू मेरी जिन्दगी है’मार्फत ठूलो पर्दामा प्रस्तुत हुँदैछ। लामो समयदेखि फ्यानहरू प्रतिक्षा गरिरहेको यो जोडीले विशेषगरी युवा दर्शकको मन छुने अपेक्षा गरिएको छ।
‘सिला’
हर्षवर्द्धन राणेको रोमान्टिक फिल्म ‘सिला’ पनि २०२६ मा रिलिज हुँदैछ। ‘एक दिवाने की दीवानियत’पछि फेरि रोमान्टिक भूमिकामा देखिन लागेका हर्षवर्द्धनसँग यस फिल्ममा सादिया खतिब मुख्य भूमिकामा रहनेछिन्। करणवीर मेहरा नकारात्मक भूमिकामा देखिने यो फिल्मले प्रेमकथामा नयाँ मोड ल्याउने विश्वास गरिएको छ।
‘लाइका–लाइकी’
नयाँ पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको रोमान्टिक ड्रामा ‘लाइका–लाइकी’ पनि २०२६ मा दर्शकमाझ आउने तयारीमा छ। फिल्ममार्फत राशा थडानी ठूलो पर्दामा डेब्यु गर्दैछिन् भने उनको अपोजिटमा ‘मुन्ज्या’ फेम अभय वर्मा देखिनेछन्। युवा प्रेम, मित्रता र सम्बन्धका जटिलतालाई फरक ढंगले प्रस्तुत गर्ने यो फिल्मको रिलिज मिति भने अझै घोषणा हुन बाँकी छ।