बक्यौता तिर्ने दबाब बढ्योः विराटनगरमा २४९ उपभोक्ताको बिजुली काटियो

विराटनगर, पुष १८
विद्युत महसुल नतिर्ने उपभोक्तामाथि नेपाल विद्युत प्राधिकरणले कडाइ बढाएको छ। विराटनगर वितरण केन्द्रले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिसम्म महसुल नबुझाउने २४९ उपभोक्ताको विद्युत आपूर्ति काटेको छ।

वितरण केन्द्रका अनुसार हालसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता रहेको छ। बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै प्राधिकरणले मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत उठाइसकेको जनाएको छ।

वितरण केन्द्र प्रमुख राम उदगार शाहले पटक–पटक सूचना र अनुरोध गर्दा पनि महसुल नबुझाउने उपभोक्ताको पहिचान गरी लाइन काट्ने कार्यलाई तीव्र बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी बक्यौता रहेका ग्राहकको हकमा पनि यही प्रक्रिया निरन्तर लागू हुनेछ।

प्राधिकरणले विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन समयमै महसुल बुझाउन उपभोक्तालाई आग्रह गर्दै आएको छ। समयमै भुक्तानी नगरेमा सेवा अवरुद्ध हुन सक्ने चेतावनीसमेत दिइएको छ।