मध्यरातको सडक दुर्घटनाः विराटनगर–१५ मा मोटरसाइकल ठोकिँदा एक युवकको ज्यान गयो

विराटनगर
विराटनगर महानगरपालिका–१५ स्थित ३ नम्बर ढाटमा भएको मोटरसाइकल दुर्घटनाले एक युवकको ज्यान लिएको छ। शुक्रबार मध्यराति भएको दुर्घटनामा मोटरसाइकल चालक सप्तरी जिल्लाका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो। यस भन्दा पहिले दुइ वर्ष अगाडी सोही ढाटमा ठोकीएर मध्य रातमा विराटनगर १ निवासी २४ वर्षका एक कामत थरकका युवाको मृत्यु भएको थियो ।

प्रदेश १–०२–०५२ प ९५८७ नम्बरको मोटरसाइकल भित्री सडक हुँदै गइरहेको अवस्थामा राति करिब १२ः५५ बजे अनियन्त्रित भई ३ नम्बर ढाटमा ठोकिएको प्रहरीको भनाइ छ। दुर्घटनाको समयमा मोटरसाइकलमा चौधरीसँगै कटहरी–५ का धर्मेन्द्र सरदार पनि सवार थिए।

घटनालगत्तै प्रहरी सहायक निरीक्षक नवराज कार्कीको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी कोशी अस्पताल पुर्‍याएको थियो। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन्।

सप्तरी घर भई हाल कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा काम गर्दै आएका चौधरीको निधनले परिवार र सहकर्मी शोकमा परेका छन्। मोटरसाइकलको पछाडि सवार सरदारको हातखुट्टामा चोट लागेको भए पनि उपचारपछि अवस्था सामान्य रहेको र उनी हाल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।