एमाले मोरङमा उम्मेदवार छनोट पेचिलो
विराटनगर । नेकपा (एमाले) मोरङमा फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया जटिल बनेको छ। जिल्लाका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीले एकल नाममा सहमति जुटाउन नसकेपछि कुल ४३ जनालाई सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेका छन्।
आइतबार सम्पन्न क्षेत्रीय बैठकहरूबाट प्रत्येक क्षेत्रले ३ देखि १६ जनासम्मको नाम जिल्ला कमिटीमा पठाएको एमाले मोरङले जनाएको छ। ती नामहरू अब जिल्ला र प्रदेश कमिटी हुँदै अन्तिम निर्णयका लागि केन्द्रमा पुग्नेछन्।
यसपटकको सिफारिस सूचीमा नेता विनोद ढकाल सबैभन्दा बढी चर्चामा छन्। उनको नाम क्षेत्र नम्बर १, ४ र ६ गरी तीनवटै क्षेत्रबाट सिफारिस गरिएको छ, जसले उनी पार्टीभित्र प्रभावशाली नेताका रूपमा देखिएका छन्।
क्षेत्रगत रूपमा हेर्दा,
-
क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा र विनोद ढकालसहित ६ जना,
-
क्षेत्र नम्बर २ बाट ऋषिकेश पोखरेल र दिलीप अग्रवालसहित ३ जना,
-
क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकाल र केदारप्रसाद गुरागाईँसहित सबैभन्दा बढी १६ जनाको नाम सिफारिस गरिएको छ।
त्यस्तै,
-
क्षेत्र नम्बर ४ बाट जीवन घिमिरे र विनोद ढकालसहित ९ जना,
-
क्षेत्र नम्बर ५ बाट उद्धव पोखरेलसहित ६ जना,
-
क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित, विनोद ढकाल र पर्शुराम बस्नेतसहित ७ जनाको नाम पठाइएको छ।
पार्टीभित्र आकांक्षीको संख्या धेरै हुँदा उम्मेदवार छनोट चुनौतीपूर्ण बनेको नेताहरूको भनाइ छ। अब केन्द्रले कसलाई टिकट दिने भन्ने विषयमा चासो बढेको छ।