विराटनगर, पुस २२ गते ।
झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित ७ जना पक्राउ परेका छन्।
झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचका क्रममा दमक नगरपालिका–१ का सुरज कुमाल, कृष्णबहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ गाउँपालिका–३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानी तथा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित स्थानबाट धरान उपमहानगरपालिका–५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ।
यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी नगरपालिका–६ का सुनिल चौधरी र सुजन राईलाई प्रतिबन्धित औषधि ६२० क्याप्सुल र ५७० ट्याब्लेटसहित पक्राउ गरेको छ।
उता भोजपुरको अस्थायी प्रहरी पोस्ट दुम्मानाले आमचोक गाउँपालिका–८ हतुवालीस्थित स्थानमा बेवारिसे अवस्थामा ८ किलोग्राम गाँजा फेला पारेको जनाएको छ।