कोशी सरकारमा ‘नीति होइन, पात्र’ फेरबदल

विराटनगर ।

कोशी प्रदेश सरकारमा मंगलबार व्यापक फेरबदल भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यमान सबै मन्त्रीहरूलाई एकैपटक बिदा गर्दै नयाँ अनुहारलाई मन्त्रिपरिषद् भित्र्याएका छन् । तर यो परिवर्तन कुनै नीतिगत असफलता वा कार्यसम्पादन मूल्यांकनका आधारमा होइन, सत्ता साझेदार दलभित्र बढ्दै गएको आन्तरिक दबाब व्यवस्थापनका लागि गरिएको स्पष्ट देखिन्छ ।

सत्ता साझेदार नेकपा (एमाले) र नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षा राख्ने सांसदहरूको संख्या बढ्दै गएपछि ‘सबैलाई पालो’ भन्ने समझदारीअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । स्रोतहरूका अनुसार यो पुनर्गठनलाई दलभित्रको असन्तुष्टि कम गर्ने र सरकारलाई राजनीतिक रूपमा सुरक्षित राख्ने उपायका रूपमा हेरिएको छ ।

को–को बाहिरिए ?

एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला मन्त्री राम राना, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई पदमुक्त भएका छन् । राज्यमन्त्री सिर्जना राई पनि सरकारबाट बाहिरिएकी छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, पर्यटन मन्त्री सदानन्द मण्डल, कृषि मन्त्री खगेनसिंह हाङ्गाम तथा भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले जिम्मेवारी छाडेका छन् ।

नयाँ अनुहार, उही मन्त्रालय

पुनर्गठनपछि एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन (तिलचन) पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री र रामकुमार महतो सामाजिक विकास मन्त्री बनेका छन् । उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री तथा शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।