काठमाडौं ।
बलिउडका चर्चित अभिनेता सञ्जय दत्त र नेपाली राजनीतिका प्रभावशाली नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार साँझ एक विशेष भेट भएको छ। नेपाल आगमनको केही समयमै अभिनेता दत्त पूर्वप्रधानमन्त्री दाहाललाई भेट्न ललितपुरस्थित उनको निजी निवास हात्तीवन पुगेका थिए।
फिल्म छायांकनको सिलसिलामा नेपाल आएका दत्त र प्रचण्डबीचको भेट पारिवारिक समन्वयमार्फत सम्भव भएको बताइएको छ। प्रचण्डकी नातिनी स्मिता दाहालको पहलमा दुईबीच भेट भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
भेटका क्रममा दुवैबीच कुन विषयमा कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन। तर स्रोतका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। नेपाली फिल्म उद्योग, सांस्कृतिक सम्बन्ध वा नेपाल–भारतबीचको कलात्मक सहकार्यका विषयमा अनौपचारिक संवाद भएको हुन सक्ने अनुमान गरिएको छ।
सञ्जय दत्तको नेपाल आगमन र शीर्ष राजनीतिक नेतासँगको भेटलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चासो बढेको छ। दत्तको नेपाल बसाइका क्रममा अन्य विशिष्ट व्यक्तिसँग पनि भेटघाट हुने सम्भावना रहेको बताइन्छ।