संसद् छिर्ने दौडमा उद्योगी व्यवसायी

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सबैजसो राजनीतिक दलहरूले उद्योगी(व्यवसायीहरूलाई पनि प्राथमिकता दिएका छन् ।

नेपालका एक मात्र डलर अर्बपति उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसका तर्फबाट नवलपरासी–१ मा उम्मेदवार बनेका छन् । उनी विघटित प्रतिनिधिसभाका सांसद समेत हुन् । अघिल्लो निर्वाचनमा समेत उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उक्त चुनावमा उनी २९ हजार ४९५ मत ल्याएर विजयी भएका थिए । उनका निकटकतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी थिए ।

कांग्रेसबाट रसुवामा टिकट पाएका मोहन आचार्य निर्माण व्यवसायी हुन् । आचार्य २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित थिए । उक्त निर्वाचनमा १८ हजार २३५ मत ल्याएर एमालेका छोवाङ तेन्जिन तामाङलाई उनले फराकिलो मतान्तरले हराएका थिए ।

मेडिकल व्यवसायी डा. सुनिल शर्मा मोरङ–३ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक शर्मा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । शर्मा ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले २२ हजार हाराहारीमा मत ल्याएका थिए । मोरङ(३ मा नेपाली नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डा। देवेन्द्र साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् ।

त्यस्तै, कांग्रेसले धादिङ–२ मा उम्मेदवार बनाएका रमेशप्रसाद धमला पनि व्यवसायी हुन । उनी पर्यटन व्यवसायी हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान का पूर्वअध्यक्ष समेत रहेका धमला आगामी निर्वाचनमार्फत पहिलो पटक संसदीय चुनावी मैदानमा होमिएका हुन् । धादिङ–२ मा २०७९ को निर्वाचनमा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए ।

पूर्व बैंकर भरतराज ढकाललाई कांग्रेसले स्याङ्जा(१ मा उम्मेदवार बनाएको छ । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा सीईओ पहिलो पटक चुनावमा भिड्न लागेका हुन् । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका राजु थापा निर्वाचित भएका थिए ।

स्याङ्जा(१ मा एमालेले उम्मेदवार बनाएका मीनप्रसाद गुरूङ पनि व्यवसायी हुन् । उनी पनि मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष हुन् । यसरी हेर्दा एउटै संस्थाका लगानीकर्ताबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा रास्वपाबाट पर्यटन बोर्डका पूर्वसीईओ धनञ्जय रेग्मी चुनावी मैदानमा छन् ।

पर्सा–४ मा उद्योगी अनिलकुमार रुँगटा कांग्रेसबाट उम्मेदवार बनेका छन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन खासगरी स्टिल तथा पाइप उत्पादनमा संलग्न छ । व्यवसायी तिलक रानाभाट कांग्रेसबाट कास्की १ मा उम्मेदवार बनेका छन् । उनी कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

दाङ–२ मा कांग्रेस उम्मेदवार बनेका किरणकिशोर घिमिरे म्यानपावर व्यवसायी हुन् । कांग्रेसले स्याङ्जा–२ मा गण्डकी यातायात बस व्यवसायी समितिका पूर्वअध्यक्ष भागवतप्रकाश मल्ललाई उठाएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर कांग्रेसबाट कैलाली–२ को उम्मेदवार बनेका छन् ।

कांग्रेसले सोलुखुम्बुबाट टिकट दिएका प्रकाशसिंह कार्की कार्गो व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य समेत रहेका थिए । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

एमालेबाट चक्रे मिलनदेखि अमित लामासम्म

नेकपा एमालेले पनि उद्योगी व्यवसायीहरुलाई धेरैवटा निर्वाचन क्षेत्रमा टिकट दिएको छ । नवलपुर–१ बाट एमाले उम्मेदवार बनेका भगीरथ सापकोटा सोही पार्टीको भ्रातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष हुन् । झापा–४ मा वैदेशिक रोजगार व्यवसायी एलपी सावाँ लिम्बू, दोलखामा जलविद्युत व्यवसायी पार्वत गुरुङ, कपिलवस्तु–३ मा चिनी उद्योगी वीरेन्द्रप्रसाद कनौडिया र अछाम–१ मा पूर्वबैंकर झपट बोहोरा, एमालेबाट उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन् ।

बारा–४ बाट उम्मेदवार बनेका कृष्णकुमार ९किसान० श्रेष्ठ सिमरामा होटल, अपार्टमेन्ट र निर्माण सामग्री व्यवसायमा आबद्ध छन् । उनी निर्वमान सांसद तथा पूर्वमन्त्री समेत हुन् ।

एमालेले अछाम–१ मा उम्मेदवार बनाएका झपट बोहरा बैंक तथा अटो व्यवसायमा संलग्न छन् । उनी सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री हुन् । अछाम(१ मा अघिल्लो पटक पूर्वश्रममन्त्री शेरबहादुर कुँवरले जितेका थिए ।

एमालेले कपिलवस्तु–३ बाट चिनी उद्योग र कृषि व्यवसायमा संलग्न वीरेन्द्रप्रसाद कनौडियालाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका थिए ।

त्यस्तै, काभ्रे–१ बाट पार्टी प्यालेस र रात्रिकालीन व्यवसायमा आबद्ध अमित लामा चुनावी मैदानमा छन् । सिन्धुपाल्चोक–१ बाट सीमापार व्यवसायी आङदोर्जे शेर्पा उम्मेदवार बनेका छन् । मनाङबाट कृषि र पर्यटन व्यवसायी पाल्देन छोपाङ गुरुङ र गोरखा–२ बाट मिलन गुरुङ ९चक्रे मिलन० उम्मेदवार बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिका ‘चक्रे मिलन’ घरजग्गा कारोबारमा सक्रिय छन् । बागलुङ–२ बाट ऊर्जा व्यवसायी हीराबहादुर केसी र मोरङ–२ बाट जुत्ता–चप्पल व्यवसायी दिलीपकुमार बगडिया एमालेबाट चुनावी मैदानमा छन् ।

स्याङ्जा–२ बाट कापी उद्योग सञ्चालक खिमबहादुर थापा उम्मेदवार बनेका छन् । म्याग्दीबाट होटल व्यवसायी हरिकृष्ण श्रेष्ठ, कैलाली–१ बाट जलविद्युत व्यवसायी द्वारिका न्यौपाने चुनावी मैदानमा होमिएका छन् ।

यस्तै हुम्लामा नेकपाबाट उम्मेदवार बनेका धनबहादुर बुढा समेत पेसाले व्यवसायी हुन् । उनी निर्माण व्यवसायी हुन् । उनी यसअघि २०७०, २०७४ र २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका व्यवसायी हुन् । त्यस्तै, यस क्षेत्रमा कांग्रेसबाट भिड्दै गरेका कर्णबहादुर बुढा उनकै सहोदर भाइ हुन् । उनी पनि व्यवसायी हुन् ।

रास्वपामा को(को छन् उम्मेदवार बनेका व्यवसायी रु

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट काठमाडौं–९ मा पार्टी उपसभापति डीपी अर्याल चुनावी मैदानमा छन् । उनी म्यानपावर तथा पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय छन् । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत ल्याउँदै विजयी भएका थिए । त्यसबेला रास्वपाका टेकबहादुर पोखरेल दोस्रो भएका थिए ।

स्याङ्जा–१ मा रास्वपाले नेपाल पर्यटन बोर्डका पूर्वसीईओ धनञ्जय रेग्मीलाई चुनावी मैदानमा उतारेको छ ।

बारा–३ खल्तीका सहसंस्थापक अरविन्द साह र चितवन–१ मा सेयर कारोबारी हरि ढकाल उम्मेदवार छन् । ढकालले अघिल्लो निर्वाचनमा कांग्रेसका डा। विश्वनाथ पौडेललाई हराएका थिए ।

रास्वपाका प्रवक्ता मनिष झा धनुषा(३ मा उम्मेदवार छन् । उनी तथ्यांक व्यवसायी समेत हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेकी जुली महतो निर्वाचित भएकी थिइन् ।

यस्तै, पर्सा–४ बाट उद्योगी अनिलकुमार रुँगटा, रुपन्देही–२ बाट यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल, र कास्की–१ बाट वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट चुनावी मैदानमा छन् । रास्वपाबाट उदयपुर(१ मा उम्मेदवार बनेका पारसमणि गेलाल व्यावसायिक हुन् । उनी पार्टीमा उद्योग विभाग सचिवका रूपमा समेत कार्यरत छन् ।

त्यस्तै, कैलाली ५ मा रास्वपाबाट उम्मेदवार बनेका आनन्दबहादुर चन्द पनि व्यवसायी हुन् । उनी शिक्षा क्षेत्रमा आबद्ध छन् । उनी चितवनको बोस्टन इन्टरनेसनल कलेज तथा अंकुरम स्कुलका अध्यक्ष हुन् ।

नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट कैलाली ५ मा उम्मेदवार बनेका प्रेम आले काठ व्यवसायी हुन् । दुईपटक सांसद भइसकेका आले पूर्वमन्त्री पनि हुन् ।

स्वतन्त्रतर्फ काठमाडौं–१ मा पठाओका सञ्चालक असीममानसिंह बस्नेत र उज्यालो नेपाल पार्टीबाट काभ्रे–२ मा होटल व्यवसायी ज्योत्सना सैँजूले उम्मेदवार छन् ।

यस्तै यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल रुपन्देही–२ मा कांग्रेसबाट टिकट पाएका छन् । उनी सोना प्याकेजिङ तथा होटल स्याफ्रोनका पनि अध्यक्ष हुन् । जनमत पार्टीबाट सिरहा–४ मा निर्वाचनमा होमिएका वीरेन्द्रप्रसाद महतो पनि व्यावसायिक पृष्ठभूमिका नेता हुन् । उनी यसअघि जसपा नेपालमा थिए । उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् ।

काभ्रे क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैँजूले उम्मेदवारी दर्ता गरेकी छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रहेकी सैँजूले उम्मेदवारी दर्ता गरेकी हुन् । कम्प्युटर इन्जिनियर रहेकी उनी होटल व्यवसायी पनि हुन् । उनी युवा उद्यमी मञ्च ९एनवाईइएफ० काभ्रे च्याप्टरको निवर्तमान अध्यक्ष समेत हुन् ।

देशको आर्थिक ऐन–कानुन निर्माण गर्ने ठाउँमा विज्ञता नभएका नेताहरू हुँदा उद्योगधन्दा फस्टाउन नसकेको भन्दै आफैं नीति निर्माण बनाउने ठाउँमा पुग्न चाहेको उम्मेदवार बनेका उद्योगी(व्यवसायीहरू बताउँछन् ।