मोरङमा स्वतन्त्र उम्मेदवारको अन्तिम टुंगो, २५ जनाले पाए फरक–फरक चुनाव चिन्ह

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा स्वतन्त्र उम्मेदवारको तस्बिर स्पष्ट हुँदै गएको छ। शुक्रबार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दै अन्तिम नामावली सार्वजनिक गरेसँगै मोरङका निर्वाचन क्षेत्रहरूमा स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको हो।

मोरङमा सुरुमा २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तीमध्ये ४ जनाले उम्मेदवारी फिर्ता लिएपछि २५ जना उम्मेदवार चुनावी मैदानमा कायम भएका छन्। मुख्य निर्वाचन अधिकृत तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत उनीहरूलाई फरक–फरक चिन्ह प्रदान गरिएको हो।

निर्वाचन क्षेत्र नम्बर १ देखि ६ सम्म स्वतन्त्र उम्मेदवारहरूलाई सारंगी, ठेकी, ट्रफी, क्यामेरा, आँप, झोला, कैँची, मुढा, त्रिभुज, दूरबिन, भँगेरा, जिप, मसी जस्ता विविध चुनाव चिन्ह दिइएका छन्। यी चिन्हहरूले मतदातामाझ उम्मेदवार चिनाउने प्रमुख आधारको काम गर्नेछन्।

क्षेत्रगत रूपमा हेर्दा मोरङ–५ मा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार देखिएका छन् भने अन्य क्षेत्रमा पनि २ देखि ५ जनासम्म स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले मोरङको चुनावी प्रतिस्पर्धा थप बहुआयामिक बन्ने संकेत देखिएको छ।

चिन्ह पाएसँगै स्वतन्त्र उम्मेदवारहरू अब प्रचारप्रसार, घरदैलो र मतदाता भेटघाटमा सक्रिय हुने तयारीमा जुटेका छन्।