विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन मोरङ प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरे पनि अपेक्षित सहयोग नपाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले पुस २५ र माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै निर्वाचन सम्पन्न नहुन्जेलसम्म व्यक्तिगत हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो। तर हालसम्म जम्मा ११ वटा हतियार मात्रै बुझाइएको छ।
प्रशासनका अनुसार जिल्लामा १ हजार ३७ वटा इजाजत प्राप्त हतियार छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अटेरी गर्ने हतियारधनीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिए।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले समयमै हतियार नबुझाए लाइसेन्स खारेज गरी हतियार जफत गरिने स्पष्ट पारे। सुरक्षित निर्वाचनका लागि सहयोग गर्न प्रशासनले सबै हतियारधनीलाई आग्रह गरेको छ।




