लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ७ जना पक्राउ

विराटनगर, माघ १७ गते ।

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित ७ जनालाई पक्राउ गरेको छ।

माघ १६ गते झापाको लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केरखाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक गाउँपालिका–६ का अनिश राई र सुनसरी धरान–१७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ। सोही कार्यालयले झापाको बिर्तामोड–४ का फणिन्द्र विश्वकर्मालाई १ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

मोरङमा इलाका प्रहरी कार्यालय रानी तथा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर–१६ बाट लेटाङ नगरपालिका–५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै प्रहरी चौकी डाँगाबजार बेलबारीले बेलबारी नगरपालिका–७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधी ६३० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

त्यसैगरी सुनसरीको धरान–१९ स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।