एबिसी नेपालले १० जना महिलालाई कुटानी–पिसानी मेसिन हस्तान्तरण

विराटनगर। एबिसी नेपाल कोशी प्रदेश, विराटनगरको आयोजनामा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत पाँच दिने घरेलु हातेमिल (कुटानी–पिसानी) सञ्चालन तालिम सम्पन्न भएको छ। तालिमको समापनसँगै आज प्रमाणपत्र वितरण तथा कुटानी–पिसानी मेसिन हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।

युएनएफपिए नेपालको सहयोग र सिएमसी नेपालको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्य तथा अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मेयर कोइरालाले सहभागीहरूले सिकेको सीप व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै महानगरपालिकाले सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशका अध्यक्ष विष्णु पन्त आचार्यले सहभागीहरूलाई तालिमबाट प्राप्त सीपलाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बन्न शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी युएनएफपिए नेपालका सरोज भुषाल, सिएमसी नेपालकी मनो समाजीक निषा दाहाल तथा स्वास्थय संयोजक घनश्याम शर्माले हस्तान्तरण गरिएका मेसिनको प्रभावकारी उपयोग गरी बढीभन्दा बढी आयआर्जन गर्न, परिवारको आर्थिक अवस्था सुधार्न र बचत गर्ने बानी विकास गर्न सहभागीहरूलाई सुझाव दिनुभयो।

उदयपुर, ओखलढुंगा र मोरङ जिल्लाबाट सहभागी भएका १० जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम प्रदान गरी १० वटा कुटानी–पिसानी मेसिन हस्तान्तरण गरिएको एबिसी नेपालले जनाएको छ।

कार्यक्रमले महिलाहरूको आर्थिक सशक्तीकरणमा सहयोग पुग्नुका साथै लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।