एपीएफ–एसएसबीबीच डिआईजी तहको समन्वय बैठक सम्पन्न

विराटनगर। नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र भारत सशस्त्र सीमा बल (एसएसबी) बीच १६औँ डिआईजी तहको समकक्ष समन्वय बैठक आज मिति २०८२ माघ २३ गते मोरङको विराटचोकस्थित नेपालिरिका होटलमा सम्पन्न भएको छ।

बैठकमा दुवै देशका सीमा सुरक्षा निकायका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो। बैठकमा सीमा सुरक्षा सुदृढीकरण, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

त्यसैगरी सीमा स्तम्भको संरक्षण, नो–म्यान्स ल्यान्ड व्यवस्थापन, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा ४८ घण्टा अगावै सिल गर्ने, संयुक्त गस्ती बढाउने र सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने निर्णय बैठकले गरेको छ।

एपीएफ नेपालको तर्फबाट डिआईजी कुमार न्यौपानेले बैठकको स्वागत गर्दै सीमा केवल दुई देशबीचको रेखा मात्र नभई मित्रताको प्रतीक भएको उल्लेख गर्नुभयो। एसएसबी भारतका तर्फबाट डिआईजी सरोज कुमार ठाकुर (आईजी) ले एपीएफ नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न आपसी समन्वय, सहयोग तथा सूचनाको आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ।

बैठकमा एपीएफ नेपालको तर्फबाट नायव महानिरीक्षकहरू कुमार न्यौपाने, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनीष थापाको उपस्थिति रहेको थियो। भारतीय एसएसबीका तर्फबाट डिआईजी सरोज कुमार ठाकुरसहित मञ्जीत सिंह, सुरेश सुब्रमण्यम, राजेश टिक्कु र मनीष कुमार सहभागी हुनुहुन्थ्यो।