

विराटनगर । विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार राति दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
बा ८ च ६५०८ नम्बरको स्कोरपिओ भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई सडकछेउको खाल्डोमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्।
नेपाल प्रहरी ले गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा सिट र डिक्कीमा लुकाइछिपाइ राखिएको ४२० किलो गाँजा फेला परेको हो। बरामद गाँजा र गाडी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
प्रहरीका अनुसार गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको भन्नेबारे अनुसन्धान भइरहेको छ। फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।




