विराटनगर । निर्वाचन रिपोर्टिङका क्रममा पत्रकारमाथि भएको आक्रमणप्रति सञ्चार क्षेत्रले गम्भीर आपत्ति जनाएको छ। रातोपाटी अनलाइन का पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रेस सेन्टर नेपाल ले माग गरेको छ।
प्रेस सेन्टर नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा झापा जिल्लामा रिपोर्टिङका क्रममा आचार्यमाथि भौतिक आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख गरेको छ। घटनामा संलग्न नेकपा एमाले का भोलेन्टेयर फोर्सका सदस्यहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।
आचार्यसहितको रातोपाटी अनलाइनको टोली निर्वाचनसम्बन्धी समाचार संकलनका लागि झापाको कमल गाउँपालिका अन्तर्गत जीवन चोक पुगेको बेला उक्त घटना भएको हो। रिपोर्टिङकै क्रममा उनीमाथि आक्रमण हुनुका साथै मोबाइल फोन खोसिएको र चस्मा फुटाइएको जनाइएको छ।
आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ। उनको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै प्रेस सेन्टरले घटनाको घोर निन्दा गरेको छ।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले पत्रकारको सुरक्षाबिना निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव नहुने भन्दै यस्ता घटनामा राज्य गम्भीर हुनुपर्ने बताए। उनले दोषीमाथि तत्काल कारबाही नभए यसले प्रेस स्वतन्त्रतामाथि थप खतरा निम्त्याउने चेतावनी समेत दिएका छन्।




