मतदान गरौँ, तर मत बिक्री नगरौँ
सम्पादकीय सत्यनारायण शर्मा
मतदान, कन्यादान र रक्तदान—यी तीनै पवित्र दान हुन्। लोकतन्त्रमा मतदान नागरिकको सबैभन्दा ठूलो अधिकार मात्र होइन, कर्तव्य पनि हो। तर दुःखको कुरा, पछिल्ला वर्षहरूमा यो पवित्र अधिकार पैसाको लोभ, डर र झुटा आश्वासनको सिकार बन्दै गएको छ।
हामीले मत हाल्दा विवेक प्रयोग गर्नुपर्छ। दाग नलागेको, भ्रष्टाचार नगरेको, सफा चरित्र भएको र आफ्नो बोलीमा अडिग रहने व्यक्तिलाई मात्र मतदान गरौँ। बिहान एउटा कुरा गर्ने र बेलुका अर्को कुरा गर्ने, पछि “मैले भनेको होइन” भनेर पन्छिने, वा पत्रकारलाई दोष दिने नेतालाई मत नहालौँ।
धेरै बोल्ने होइन, धेरै काम गर्ने नेता खोजौँ। अरूलाई गाली गरेर, कमजोरी खोज्दै घण्टौँ टिकाटिप्पणी गर्ने होइन—देशको भविष्यका लागि ठोस काम गर्ने नेतृत्व आवश्यक छ। देशको भलोभन्दा आफ्नो परिवार, नातागोता र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने नेतालाई मतदान नगरौँ।
६० वर्षभन्दा माथिका नेताहरू अब पार्टीका सल्लाहकार बनेर नयाँ पुस्तालाई मार्गदर्शन गरून्। नेतृत्वमा नयाँ सोच, ऊर्जा र इमानदारी आवश्यक छ। आफैं बिरामी पर्दा आफ्नै देशका अस्पताल र डाक्टरमा विश्वास नगरी विदेश धाउने, तर जनतालाई स्वदेशप्रेमको पाठ पढाउने उमेदवारलाई पनि चिनौँ।
जसले आफ्ना छोराछोरीलाई नेपालकै सरकारी वा निजी विद्यालयमा पढाउँछ, जो आफैं सस्तो सवारी साधन प्रयोग गर्छ, करोडौँको गाडी चढेर सादगीको भाषण दिँदैन—त्यस्ता नेतालाई रोजौँ। विदेशी जुत्ता र विलासितामा रमाउने होइन, स्वदेशी उत्पादन प्रयोग गर्ने, जन्मदिन विदेशमा होइन आफ्नै देशका पर्यटकीय स्थलमा मनाउने नेतृत्वलाई समर्थन गरौँ।
किसान र मजदुरका समस्या बुझ्ने, गरिबी अन्त्यतर्फ ठोस कदम चाल्ने, बालमृत्यु दर र मातृ मृत्यु दर घटाउन सक्ने, नेपालमै खाद्यमल उद्योगजस्ता उत्पादनमूलक उद्योग सञ्चालन गर्ने सोच भएका नेतालाई मतदान गरौँ।
निर्वाचनको बेला पैसा, रक्सी वा लोभलालच आउन सक्छ। त्यस्तो लोभमा नफसौँ। एक दिनको लोभले पाँच वर्षसम्म पश्चात्ताप गराउँछ। गरिब र सुकुम्बासी बस्तीमा पैसा बाँडेर मत किन्ने प्रवृत्तिको डटेर विरोध गरौँ।
लोकतन्त्र बलियो बनाउने कि कमजोर—यो हाम्रो एक–एक मतमा निर्भर छ।
त्यसैले, मतदान गरौँ — तर मत कहिल्यै बिक्री नगरौँ।




