काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट सांसद चयन प्रक्रिया अन्तिम चरणतिर पुगेको छ। समानुपातिकतर्फ सिट प्राप्त गरेका ६ वटा राजनीतिक दलहरूले आफ्नो बन्द सूचीबाट छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोग मा बुझाएका छन्।
आयोगले यसअघि समानुपातिक सिट बाँडफाँट सार्वजनिक गर्दै ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका दलहरूलाई तीन दिनभित्र बन्द सूचीबाट उम्मेदवार छनोट गरी नाम पठाउन निर्देशन दिएको थियो। सो निर्देशनअनुसार आइतबारसम्म सबै दलले आफ्नो नामावली आयोगमा बुझाइसकेका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ दलले मात्र समानुपातिक सिट पाएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेस ले २० सिट, नेकपा एमाले ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट, श्रम संस्कृति पार्टी ले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट पाएका छन्।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार प्राप्त नामहरू अहिले आयोगले रुजु गर्ने प्रक्रियामा रहेको छ। उनले दलहरूले पठाएका नामहरू समानुपातिक समावेशी क्लस्टरअनुसार मिलेको छ कि छैन भन्ने विषयमा जाँच भइरहेको जानकारी दिए।
“दलहरूले पठाएका नामहरू क्लस्टरअनुसार ठीक भए प्रक्रिया छिट्टै टुंगिन्छ, नभए सुधारका लागि पुनः पत्राचार गर्नुपर्ने हुन्छ,” उनले बताए।
आयोगले सबै प्रक्रिया पूरा भएपछि अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिरहेको जनाएको छ। त्यसपछि मात्र समानुपातिकतर्फका सांसदहरूको औपचारिक घोषणा हुनेछ।




