काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई नवनिर्वाचित सांसदको योग्यता विषय सर्वोच्च अदालतमा पुगेको छ। उनीहरू निर्वाचित भएपछि विपक्षी उम्मेदवारले कानुनी चुनौती दिएका हुन्।
सिन्धुली–१ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर–२ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार सर्वोच्च अदालत मा रिट दायर गरिएको हो। रिट निवेदनमा उनीहरूलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोग नेपाल को निर्णय बदर गर्न माग गरिएको छ।
रिट दायर गर्नेहरूमा सिन्धुली–१ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर–२ का एमाले उम्मेदवार अम्बरबहादुर रायमाझी रहेका छन्। उनीहरूले रास्वपाका दुवै उम्मेदवार उम्मेदवारी दिँदा नै कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबी गरेका छन्। कालोसूचीमा रहेका व्यक्तिलाई उम्मेदवार बन्न कानुनी रूपमा अयोग्य ठहरिने भएकाले उनीहरूको उम्मेदवारी नै अमान्य हुने जिकिर निवेदनमा गरिएको छ।
निवेदकहरूले आयोगलाई झुक्याएर उम्मेदवारी दिएको आरोप लगाउँदै उनीहरूको शपथ ग्रहण रोक्न अन्तरिम आदेश जारी गर्न पनि अदालतसँग माग गरेका छन्। साथै आयोगको निर्णय र जारी गरिएको निर्वाचित प्रमाणपत्र बदर गरी दोस्रो बढी मत ल्याएका आफूहरूलाई विजयी घोषणा गर्न माग गरिएको छ।
रिटमाथि सुनुवाइका लागि चैत २५ गते पेसी तोकिएको वारेस युवराज पौडेलले जानकारी दिएका छन्।
यसअघि पनि धनुषा–१ मा रास्वपाकै उम्मेदवार किशोरी साहको उम्मेदवारी कालोसूचीको कारण देखाउँदै निर्वाचन आयोग नेपाल ले बदर गरेको थियो। सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव विजयी भएका थिए। उम्मेदवारी खारेजविरुद्ध साहले पनि सर्वोच्च अदालत मा रिट दिएका थिए, तर अदालतले उनको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।




