फिक्स्ड डिपोजिटमा चलखेलको आशंका: सिटिजेन बैंकका पाँच कर्मचारी निलम्बित, प्रहरीमा उजुरी

विराटनगर । सिटिजेन बैंक इन्टरनेशनल को विराटनगरस्थित कञ्चनबारी शाखामा ठूलो आर्थिक अनियमितताको आशंका उठेको छ। बैंककै आन्तरिक लेखा परीक्षणका क्रममा करिब रु. ४ करोड ९१ लाख बराबर रकम हिनामिना भएको संकेत देखिएपछि प्रकरण सार्वजनिक भएको हो।

प्रारम्भिक विवरणअनुसार फिक्स्ड डिपोजिटमा राखिएको रकम झुटो कागजी प्रक्रिया तयार गरी निकालिएको आशंका गरिएको छ। बैंक स्रोतका अनुसार केही कर्मचारीबीच मिलेमतोमा यस्तो कार्य भएको हुनसक्ने अनुमान गरिएको छ।

घटनापछि बैंक प्रशासनले संलग्न भनिएका पाँच जना कर्मचारीलाई निलम्बन गर्दै प्रहरीमा औपचारिक उजुरी दिएको छ। अहिले उक्त प्रकरणबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

बैंकले ग्राहकको रकम सुरक्षालाई प्राथमिकतामा राख्दै दोषीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ। साथै, घटनाले वित्तीय संस्थामा आन्तरिक नियन्त्रण प्रणाली र पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ।