महाराजगञ्जमा तनावपछि प्रशासन कडा, बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–बर्गदवा क्षेत्र शनिबार दिउँसोदेखि पूर्ण रूपमा प्रशासनको निगरानीमा आएको छ। दुई समुदायबीच बढेको तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषे

धाज्ञा जारी गरेको हो।

मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोड घटनापछि हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले तत्काल कदम चालेको जनाएको छ। स्थिति थप जटिल बन्न नदिन दिउँसो २ बजेदेखि लागू हुने गरी भेला, सभा, जुलुस लगायतका सबै गतिविधिमा रोक लगाइएको छ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार जारी आदेशले बर्गदवा क्षेत्रलाई चारैतिरबाट सीमित गरेको छ—पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ।

प्रशासनले आदेश उल्लंघन गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिएको छ भने सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन बढाइएको र अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ।

स्थानीय बासिन्दालाई अफवाहमा नलाग्न र शान्ति कायम गर्न सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।