नेकपा एमालेभित्र रूपान्तरणको बहस चलिरहेका बेला नेता सुरेन्द्र पाण्डेले पार्टीलाई नयाँ ढाँचामा ढाल्न तीनवटा स्पष्ट प्रस्ताव अघि सारेका छन्। उनले अबको एमालेलाई परम्परागत राजनीतिक शक्ति मात्र नभई समस्या समाधान गर्ने सक्षम र आधुनिक संस्था बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो धारणा राख्दै पाण्डेले विगतको उपलब्धिमा निर्भर रहनेभन्दा भविष्यकेन्द्रित रणनीति आवश्यक भएको उल्लेख गरेका छन्। उनका अनुसार बदलिँदो समयसँग मेल खाने गरी पार्टीले कार्यशैली र संरचना दुवैमा सुधार गर्न ढिला भइसकेको छ।
उनले पहिलो प्राथमिकता ‘विज्ञतामा आधारित राजनीति’लाई दिएका छन्। देशको आर्थिक जटिलता समाधान गर्न अब भाषणभन्दा व्यवहारिक र प्राविधिक योजना आवश्यक रहेको भन्दै अर्थशास्त्री र विषयविज्ञसँग सहकार्य गरी स्पष्ट रोडम्याप बनाउनुपर्ने उनको सुझाव छ।
त्यसैगरी, पाण्डेले ‘डिजिटल मेरिटोक्रेसी’को अवधारणा अघि सारेका छन्। पार्टीभित्र व्यक्तिगत पहुँच र सम्बन्धका आधारमा जिम्मेवारी दिने परम्परा अन्त्य गर्दै प्रविधिमा आधारित मूल्यांकन प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ। यसले कार्यकर्ताको क्षमता र योगदानलाई निष्पक्ष रूपमा मूल्यांकन गर्न सहयोग पुग्ने उनको विश्वास छ।
तेस्रो प्रस्तावका रूपमा उनले ‘संरचित पुस्तान्तरण’लाई औंल्याएका छन्। नयाँ र पुराना पुस्ताबीच सन्तुलन कायम गर्न सह–नेतृत्व (को-लिडरसिप) र मेन्टरसिप प्रणालीलाई वैज्ञानिक ढंगले लागू गर्नुपर्ने उनले बताएका छन्। यसले अनुभव र ऊर्जा दुवैको समन्वय गर्दै पार्टीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उनको दाबी छ।
पाण्डेका यी प्रस्तावलाई एमालेभित्रको आन्तरिक सुधार र भविष्यको दिशाबारे नयाँ बहसको रूपमा हेरिएको छ।




