सशस्त्र प्रहरीका आईजी अर्याल वैशाखबाट अवकाशमा, प्रतिस्पर्धामा को–को

सारांश
सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल २०८३ वैशाख १८ मा अवकाशमा जाँदै छन्, जसले चार वर्षे सेवा अवधि पूरा गर्नेछन्।
अर्यालको कार्यकालमा सरुवा र बढुवालाई पारदर्शी बनाउन पहल गरे पनि उच्च अधिकृतहरूको बढुवामा राजनीतिक चलखेल कायमै छ।
आईजीको प्रतिस्पर्धामा एआईजीहरू नारायणदत्त पौडेल र वंशीराज दाहाल छन्, जसमा पौडेल वरीयतामा अगाडि छन्।
काठमाडौं । सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल १ महिनापछि अवकाशमा जाँदै छन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल २०८३ वैशाख १८ मा अवकाशमा जान लागेका हुन् । अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीका आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ ।

२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । अर्यालकै ब्याचमेट दानबहादुर कार्की कात्तिक २४ मा प्रहरीको आईजीपी नियुक्त भए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्की २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्वमा रहन्छन् । प्रहरी र सशस्त्र दुवै संगठनमा ३० वर्षे सेवा अवधि हुन्छ । तर अर्याल चाहिँ फौजमा प्रवेश गरेको २८ वर्ष पूरा गरेर सेवा निवृत्त हुन लागेका हुन् ।

२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा २०८२ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा अर्यालको नेतृत्वमा सशस्त्र प्रहरी बल दोस्रो घेरामा खटिएको थियो । अर्याल आफ्नो कार्यकालमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन र जेनजी प्रदर्शनसँगै भएको उथलपुथलकारी समय भोगेर संगठनबाट बिदा हुँदैछन् । अर्यालले आफ्नो कार्यकालमा सशस्त्र प्र्रहरी संगठनमा हुने सरुवा र बढुवालाई पारदर्शी र अनुमान योग्य बनाउन पहल गरे । सरुवाको पूर्व सुची प्रकाशन गर्ने पद्दतिले सशस्त्रमा भनसुन अन्त्य भएको छ । यद्यपि उच्च दर्जाका अधिकृतहरुको बढुवामा हुने राजनीतिक ‘चलखेल’ अझै अन्त्य हुन सकेको छैन् । अर्यालको कार्यकाल ‘सन्तोषजनक’ रहेको सशस्त्रका उच्च अधिकृतहरु बताउँछन् ।

अर्याल सेवा निवृत्त भएपछि सशस्त्रको नेतृत्व कसले गर्छ भन्नेबारे चासो सुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले नेतृत्व गर्ने मन्त्रिपरिषद्ले सशस्त्रको नयाँ आईजी नियुक्त गर्नेछ । बालेन सरकारको सुशासनको ‘परीक्षा’ सशस्त्रको आईजी नियुक्तिमा हुने जानकारहरु बताउँछन् ।

आईजीको प्रतिस्पर्धामा एआईजीहरु नारायणदत्त पौडेल र वंशीराज दाहाल छन् । नारायण दत्त पौडेल २०७९ जेठ ६ मा एआईजी बढुवा भएका थिए । दाहाल २०७९ असोज २८ मा एआईजी बढुवा भएका हुन् ।

पौडेल वरीयतामा पहिलो नम्बरमा छन् । दुईजनाको तुलना गर्दा पौडेल भन्दा दाहाल वरीयतामा झन्डै पाँच महिना पछाडि छन् । सशस्त्रमा तीनजना एआईजी हुन्छन् । अर्का एआईजी हुन्, गणेश ठाडा मगर । ठाडा मगर २०८२ असार ३ मा एआईजीमा बढुवा भएका थिए । पौडेल वरीयतामा पहिलो नम्बरमा भएको हुनाले आईजीको सबैभन्दा बलियो दाबेदार उनी हुन् । अर्धसैनिक फौज भएको हुनाले सशस्त्रमा सरकारले वरीयतालाई प्राथमिकता दिँदै आएको छ ।

पौडेल र दाहाल अवकाशमा जान लागेका आईजी अर्यालकै ब्याचमेट हुन् । पौडेल हाल मानवस्रोत विकास विभाग, दाहाल सीमा सुरक्षा विभाग र ठाडा मगर कार्य विभागको प्रमुख छन् । ठाडा मगर पौडेल र दाहाल भन्दा पछिल्लो ब्याचमा अधिकृत हुन् ।

सशस्त्र प्रहरी नियमावली–२०७२ को नियम ५३ अनुसार सरकारले एआईजी मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा आईजीपी नियुक्त गर्नेछ । कार्यकुशलताभित्र नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफूभन्दा मुनिको सशस्त्र प्रहरीलाई प्रोत्साहन र परिचालन गर्ने सक्ने क्षमतालाई आधार बनाउनुपर्ने नियमावलीमा व्यवस्था छ ।

सशस्त्रमा ६ जना डीआईजीको पद पनि रिक्त छ । डीआईजीहरु कुमार न्यौपाने, कमल गिरी, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा गएका हुन् । अरू दुईवटा दरबन्दी नयाँ स्वीकृत भएको हो । ६ वटा दरबन्दीमा बढुवा हुन सकेको छैन ।