सत्यनारायण शर्मा
विराटनगर । यसै हप्ता विश्व क्षयरोग नियन्त्रण दिवस मनाइरहँदा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था, शाखा विराटनगरको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा क्षयरोगबाट १३४ जना बिरामीको मृत्यु भएको देखिएको छ।
उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४२ जनाको मृत्यु भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ३१ जना र आर्थिक वर्ष २०८०/०८१ मा ६१ जनाको मृत्यु भएको देखिन्छ।
आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ५६ जना बिरामी दर्ता भएका थिए। त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ७२८ जना शंकास्पद बिरामीले ओपीडीमा जाँच गराउँदा तीमध्ये १ हजार २२९ जना सामान्य खालका क्षयरोगी फेला परेका थिए। तीमध्ये १ हजार ८३ जनालाई रिफर गरिएको थियो भने १४६ जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
जटिल खालका क्षयरोगीमध्ये आर्थिक वर्ष २०८०/०८१ मा ७०५ जना अस्पतालमा भर्ना भएका थिए। यस्ता जटिल प्रकारका रोग निको पार्न ७ लाखदेखि ८ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ भने सामान्य क्षयरोग निको पार्न करिब ५ हजार रुपैयाँ खर्च लाग्ने गर्दछ।
सामान्य क्षयरोगको उपचार खर्च भने सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। तर जटिल खालको क्षयरोगको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्न नसक्दा विदेशी दातृ संस्थाहरूको आर्थिक सहयोगमा उपचार भइरहेको नेपाल क्षयरोग निवारण संस्था, विराटनगरका शाखा प्रमुख घनश्याम कोइरालाले जानकारी दिएका छन्।
कोइरालाका अनुसार सामान्य क्षयरोगीले ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्छ भने जटिल खालका बिरामीले १८ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ।
आर्थिक वर्ष २०८०/०८१ मा ओपीडीमा १० हजार ८१५ जना बिरामीले नाम दर्ता गराएका थिए। तीमध्ये ९ हजार ५० जनाले खकार परीक्षण गराएका थिए भने २ हजार ६८७ जनाले एक्स–रे सेवा लिएका थिए। साथै २ हजार ९८५ जनाले ल्याब परीक्षण सेवा निःशुल्क रूपमा लिएका थिए।
डट्स सेन्टरमा हाल १४६ जना बिरामीले नियमित रूपमा औषधि सेवन गरिरहेका छन्। उक्त क्षयरोग अस्पतालमा स्थानीय तहदेखि कोशी प्रदेशका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन्।
यो कोशी प्रदेशको एकमात्र क्षयरोग अस्पताल हो, जहाँ एक्सडीआर (XDR) परीक्षण पनि गरिन्छ। यो परीक्षण निःशुल्क हुने गरेको छ भने बाहिर गराउँदा करिब १ हजार ८०० रुपैयाँसम्म खर्च लाग्ने गरेको कोइरालाले बताए।
विराटनगरमा १५ शैयाको क्षयरोग अस्पताल सञ्चालनमा रहेको छ। हाल उक्त अस्पतालमा जटिल खालका ७ जना कारागारका कैदीहरू उपचाररत रहेका छन्।




