काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएसँगै उपभोक्तामाथि थप आर्थिक भार परेको छ। निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो।
पछिल्लो मूल्यवृद्धिपछि देशका विभिन्न क्षेत्रमा पेट्रोलको मूल्य १८४ रुपैयाँ ५० पैसादेखि १८७ रुपैयाँसम्म पुगेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १८४.५० रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १८६ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ निर्धारण गरिएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेका कारण आन्तरिक बजारमा पनि समायोजन गर्नुपरेको हो। विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्वले आपूर्ति प्रणाली प्रभावित हुँदा मूल्यमा दबाब परेको निगमले जनाएको छ।
निगमले आगामी १५ दिनमै करिब १५ अर्ब रुपैयाँसम्म घाटा हुन सक्ने प्रक्षेपण गरेको छ। यसअघि पनि निगमले मूल्यवृद्धि नगरेको खण्डमा ठूलो वित्तीय संकट आउने चेतावनी दिँदै आएको थियो।
मूल्यवृद्धिसँगै सर्वसाधारण, यातायात क्षेत्र तथा उद्योग व्यवसायमा लागत बढ्ने निश्चित देखिएको छ। यातायात भाडा बढ्न सक्ने सम्भावनासँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि थप महँगो हुन सक्ने आकलन गरिएको छ।
निगमले भने उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिने प्रतिबद्धता जनाएको छ।
यसअघि पनि निगमले चरणबद्ध रूपमा पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको थियो।




