
सत्य नारायण शर्मा
हरेक क्षेत्रमा नियम अनुसार आठ घण्टा काम गर्नुपर्छ। मजदुरहरूले पनि आठ घण्टा काम गर्छन्। निजामती कर्मचारी, शिक्षक–शिक्षिकाहरूले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्ने गरेका छन्। कर्मचारीहरूले पनि आठ घण्टा अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई काम गर्ने गरेका छन्।
तर नेपालमा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले जम्मा दुई घण्टा मात्र काम गर्ने गरेको गुनासो व्यापक छ। यस विषयमा कुनै निकायले प्रभावकारी रूपमा आवाज उठाएको देखिँदैन।
जिल्लाको प्रमुख मानिने प्रमुख जिल्ला अधिकारीको अधीनमा बसेर काम गर्ने डाक्टरहरूले दिनमा दुई घण्टा मात्र काम गर्दा हुने, तर जिल्लाका सबै कर्मचारीलाई परिचालन र अनुगमन गर्ने तथा कारबाही गर्न सक्ने अधिकार भएको प्रमुख जिल्ला अधिकारीले भने आफैं आठ घण्टा वा कहिलेकाहीँ १०–१२ घण्टासम्म काम गर्ने गरेको पाइन्छ।
तर यस्तो अवस्थामा पनि प्रमुख जिल्ला अधिकारीले सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूलाई किन कारबाही गर्न नसकेको हो भन्ने प्रश्न उठ्छ।
विराटनगरमा क्षेत्रीय अस्पतालको रूपमा रहेको कोशी अस्पतालमा दुई दर्जनभन्दा बढी एमबीबीएस र एमडी डाक्टरहरू कार्यरत छन्। यी डाक्टरहरूको ड्युटी कहिले ओपीडीमा, कहिले इमरजेन्सीमा, कहिले आईसीयूमा, कहिले सर्जिकल विभागमा पर्ने गर्छ।
ओपीडीमा भने डाक्टरहरू प्रायः ठीक ११ बजे अस्पताल आउने गर्छन्। हाजिरी गरेर सभाहलमा चिया खाने, राजनीतिक कुराकानी गर्ने र त्यसपछि मात्र आफ्नो कक्षमा जाने चलन देखिन्छ।
तर बिरामीहरू भने बिहान ८ बजेदेखि नै पुर्जा काटेर लाइनमा बसिरहेका हुन्छन्। धेरै बिरामीहरू भोकै आएका हुन्छन् र घण्टौं पालो कुर्दै बस्न बाध्य हुन्छन्।
डाक्टरहरू समयमै आउने हो भने एक्स–रे, रगत, दिसा, पिसाब, खकार, भिडियो एक्स–रे, इन्डोस्कोपी र ईसीजी जस्ता परीक्षणहरू एकै दिनमा गर्न सकिन्थ्यो। तर अहिलेको अवस्थामा यी सेवाहरू लिन बिरामीलाई दुई–तीन दिनसम्म धाउनुपर्ने अवस्था छ।
कोशी अस्पतालका डाक्टरहरू प्रायः ११ बजे आउने र १–१:३० बजे नै फर्किने गरेका छन्। बिरामीहरू सेवा लिइरहेका बेला नै डाक्टरहरू हिँडिसकेपछि चेकजाँचको रिपोर्ट आए पनि औषधि के खाने भन्ने जानकारी पाउन नसक्ने अवस्था हुन्छ।
डाक्टरहरू हतार–हतार आफ्नै निजी क्लिनिकतर्फ जाने गरेको देखिन्छ।
अहिले सरकारले निजामती कर्मचारीलाई ९ बजेदेखि ५ बजेसम्म कडाइका साथ काम गराउने, तर सरकारी अस्पतालका डाक्टरहरूले भने दुई घण्टा मात्र काम गरेर पूरा दिनको सेवा–सुविधा लिने अवस्था देखिन्छ।
यस अवस्थालाई सुधार गर्न सरकारले सबै सरकारी अस्पतालमा डाक्टरहरूलाई बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नियमित रूपमा बिरामी हेर्ने व्यवस्था लागू गर्न आवश्यक छ।
त्यसैगरी, सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले निजी क्लिनिक सञ्चालन गर्न नपाउने नियम कडाइका साथ लागू गर्नुपर्छ।
सरकारले कसैलाई कडाइ गर्ने र कसैलाई विशेष सुविधा दिने नीति अन्त्य गर्नुपर्छ। हप्तामा दुई दिन बिदा निजामती कर्मचारीलाई दिने तर प्रहरीलाई २४ घण्टा खटाउने व्यवस्था पनि पुनर्विचार गर्न आवश्यक छ।
के प्रहरी मान्छे होइनन् ? के उनीहरू मेसिन हुन् ?




