विराटनगर, वैशाख ४ गते — कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुर, झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङलाई २०८२ सालको चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित गरेको छ।
प्रहरी निरीक्षक तामाङले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
उनको नेतृत्वमा सञ्चालन गरिएको “अपरेसन ब्राउन” अन्तर्गत भद्रपुर क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै चैत्र महिनाभर १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्त पक्राउ गरिएको थियो। पक्राउ परेकाहरूबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर र नगद ३ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, उनले भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गर्नुका साथै विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन्।
त्यसका अतिरिक्त, आन्दोलनका क्रममा क्षतिग्रस्त वडा प्रहरी कार्यालय भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर तथा विद्युतीय सामग्री व्यवस्थापन, मेची बिटको पुनःस्थापना लगायतका कार्यमा स्थानीय निकाय, संघ–संस्था तथा नागरिकहरूसँग समन्वयात्मक भूमिका निर्वाह गरेका छन्।
प्रहरी चौकी मेचीपारीको नयाँ जग्गा प्राप्ति, वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माणका लागि निरन्तर पहल, तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति गराउन उनले महत्वपूर्ण योगदान पुर्याएका छन्।
उनले सम्पादन गरेका यिनै उत्कृष्ट कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।




