विराट गोल्डकपको फाइनल आज: सम्राट इतिहास रच्ने लक्ष्यमा, झापाको कडा चुनौती

विराटनगर — ३८ औँ विराट गोल्डकपको उपाधिका लागि पूर्वविजेता झापा ११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच शनिबार प्रतिस्पर्धा हुँदैछ।

तेस्रो पटक फाइनल पुगेको झापाले दोस्रो उपाधि जित्ने लक्ष्य राखेको छ भने पहिलो पटक प्रतियोगिता खेलेको सम्राट पहिलो सहभागितामै उपाधि जित्दै इतिहास रच्ने तयारीमा छ।

प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधिमा दाबी गरेका छन्। झापाले आर्मी र पुलिसजस्ता बलिया टोलीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने सम्राटले बिर्सा मुन्डा स्पोर्ट्स एकेडेमी र चर्च ब्वाइज युनाइटेडलाई समान ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथलाई मुख्य शक्ति बताएका छन् भने झापाका प्रशिक्षक गणेश खड्काले अनुभव र सन्तुलित टोलीका आधारमा उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।