विराटनगर, वैशाख २० गते — झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका–६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मेचीनगर–१३ का रोहन राजबंशी, मेचीनगर–९ का मनिष उप्रेती र मेचीनगर–६ का मिलन कार्की रहेका छन्।
उनीहरूको साथबाट ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, सर्लाही लालबन्दी नगरपालिका–२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र झापाकै शिवसताक्षी नगरपालिका–७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले झापा गाउँपालिका–२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ भने सुनसरीको भण्टाबारीस्थित इलाका प्रहरी कार्यालयको टोलीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–९ का श्यामकुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




