प्रधानमन्त्री शाहको प्रतिबद्धता : सुशासन, लगानी र जनजीवन सुधारमा सरकार केन्द्रित

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाली नागरिकको जीवनस्तर सुधारलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आयोजित भेटवार्तामा उनले सरकार सुशासन, आर्थिक समृद्धि र दिगो विकासका लक्ष्यमा केन्द्रित भएर अघि बढिरहेको बताएका हुन् ।

काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्री शाहले नयाँ सरकार बने पनि नेपालको नीतिगत स्थिरता कायम रहने स्पष्ट पारे । उनले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व र पारदर्शी शासनप्रणालीप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री शाहले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले प्रक्रियागत सुधारलाई प्राथमिकता दिएको उल्लेख गरे । व्यापार, पर्यटन, हरित ऊर्जा, जलवायु परिवर्तन तथा पूर्वाधार विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उनको भनाइ थियो ।

उनले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गरिरहेको उल्लेख गर्दै छिमेकी तथा विकास साझेदार राष्ट्रहरूसँग आपसी सम्मान र साझा हितका आधारमा सम्बन्ध अघि बढाइने बताए । विश्वका विभिन्न क्षेत्रमा भइरहेका द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

भेटका क्रममा विदेशी राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका थिए । उनीहरूले नयाँ सरकारलाई बधाई दिँदै आर्थिक विकास, सुशासन र लगानी विस्तारका क्षेत्रमा नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।