विराटनगर, जेठ २८ — कोशी प्रदेशमा मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयमा प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ।
मोरङको विराटनगरस्थित बिग होटलमा बुधबार आयोजित बैठक कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा मनसुनका कारण हुन सक्ने प्राकृतिक विपद् तथा त्यसको प्रभावकारी व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकले मोरङको विराटनगर महानगरपालिका–१६ र झापाको मेचीनगर नगरपालिका–६ मा रहेका होल्डिङ सेन्टरलाई लागूऔषध दुर्व्यसनमा परेका युवा–युवतीहरूको उपचार, सुधार तथा पुनर्स्थापना केन्द्रका रूपमा सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि कार्यदल गठन गरी संघीय सरकारसमक्ष आवश्यक पहल गर्न अनुरोध गरिने भएको छ।
त्यसैगरी, गत वर्षको वर्षाका कारण इलाममा क्षतिग्रस्त भएका घरहरूको पुनर्निर्माणका लागि लागत रकम स्वीकृत गर्न सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकमा विगतका मनसुनजन्य विपद्का घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै आगामी दिनमा सम्भावित जोखिम न्यूनीकरणका उपायहरूबारे समेत छलफल गरिएको थियो। बाढी तथा पहिरोबाट जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित स्थानको व्यवस्थापन, उद्धार सामग्रीको पर्याप्त भण्डारण, तालिमप्राप्त सुरक्षाकर्मी परिचालन तथा सम्बन्धित निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी तयारी अवस्थामा रहने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालिएको छ।
बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, प्रदेशस्तरीय सुरक्षा समितिका पदाधिकारीहरू, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो।
प्रदेश सरकारले मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र उद्धार व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




