कोशीमा लागू औषधविरुद्ध प्रहरीको महाअभियान : १३ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

विराटनगर, असार ६ — कोशी प्रदेश प्रहरीले लागू औषध नियन्त्रणलाई तीव्र बनाउँदै सञ्चालन गरेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले लागू औषधको अवैध कारोबार तथा प्रयोग नियन्त्रणसँगै सचेतना र मनोपरामर्शलाई पनि अभियानको हिस्सा बनाएको जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका विभिन्न स्थानमा परिचालित संयुक्त प्रहरी टोलीले विशेष निगरानी र चेकजाँचका क्रममा पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर, ५८८ चक्की प्रतिबन्धित औषधि, २० किलोग्राम गाँजा तथा ४ वटा सवारी साधन बरामद गरेको छ।

झापामा मात्रै विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको टोलीले गौरादह क्षेत्रबाट मोटरसाइकलमा सवार तीन जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटरमा सवार एक दम्पतीलाई पनि लागू औषधसहित पक्राउ गरेको जनाएको छ।

मोरङको कानेपोखरीमा एक युवक ब्राउनसुगरसहित पक्राउ परेका छन् भने सुनसरीमा प्रहरीले ब्राउनसुगर, ट्रामाडोल र निट्राजेपामसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

उदयपुरमा चेकजाँचका क्रममा एक व्यक्तिबाट २० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै धनकुटामा तीन जना लागू औषधसहित पक्राउ परेका छन् भने उनीहरूले प्रयोग गरेका दुई सवारी साधन समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले लागू औषध नियन्त्रण केवल पक्राउमा सीमित नभई समाजलाई लागू औषधमुक्त बनाउने उद्देश्यसहित जनचेतना, निगरानी र कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।