विराटनगर, असार ०८ गते ।
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, साथै मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी गाँजा, ५९ क्याप्सुल तथा २९९ ट्याब्लेट प्रतिबन्धित औषधि र नगद ६९ हजार ७२० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गा, झापाले कन्काई नगरपालिका–४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा नगद ४८ हजार १५० रुपैयाँसहित पक्राउ गरेको छ ।
त्यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुर, झापा र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथरको फिदिम नगरपालिका–१ का १९ वर्षीय नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । साथै, भद्रपुर नगरपालिका–८ बाट मेचीनगर नगरपालिका–१३ का २३ वर्षीय आशिष गुरुङलाई १ ग्राम ब्राउनसुगर र नगद १९ हजार ५०० रुपैयाँसहित नियन्त्रणमा लिइएको छ ।
यसैगरी, प्रहरी चौकी कुशेचौरी, मोरङले पथरीशनिश्चरे नगरपालिका–९ का २५ वर्षीय अमन लिम्बु, २१ वर्षीय सन्दिप लिम्बु, पथरीशनिश्चरे–४ का २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई १ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई ट्रामाडोल १२७ ट्याब्लेट तथा स्पास्पेन १२७ ट्याब्लेटसहित पक्राउ गरेको छ ।
उता, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवा, धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१३ का ३२ वर्षीय माकुने भन्ने राजकुमार तामाङलाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (इन्ट शाखा) र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा राखिएको ९ वटा प्लास्टिकका बोराबाट १६८ किलोग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




