विराटनगर । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य सुरक्षाको विषय फेरि चर्चामा आएको छ । विराटनगरस्थित एक रेस्टुरेन्टमा गरिएको सरकारी अनुगमनका क्रममा अखाद्य रसायन प्रयोगदेखि म्याद गुज्रेका सामग्रीसम्म फेला परेपछि बजार व्यवस्थापन र व्यवसायिक जिम्मेवारीमाथि प्रश्न उठेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको निरीक्षणमा मिथिला थाली विराटनगर प्रालिमा मिठाई उत्पादनका क्रममा स्वास्थ्यका लागि हानिकारक मानिने ‘हाइड्रो’ नामक रसायन तथा कृत्रिम रङ प्रयोग भएको भेटिएको जनाएको छ ।
अनुगमन टोलीका अनुसार भण्डारण कक्षमा म्याद सकिएका खाद्य सामग्री लामो समयदेखि राखिएको अवस्थामा फेला परेको थियो । ती सामग्री तत्काल जफत गरी नष्ट गरिएको छ भने करिब ५ किलो मिठाई नियन्त्रणमा लिइएको छ ।
निरीक्षणका क्रममा भान्साको सरसफाइ कमजोर रहेको, खाना तयारीका उपकरण नियमित सफा नगरिएको र खाद्य सामग्री खुला रूपमा राखिएको अवस्था समेत भेटिएको कार्यालयले जनाएको छ ।
अनुगमन टोलीले सम्बन्धित व्यवसायलाई तत्काल सुधारका लागि निर्देशन दिएको छ । तोकिएका मापदण्ड पालना नगरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।
व्यापारिक गतिविधि तीव्र रहेको विराटनगरमा यस्ता घटना सार्वजनिक हुनुले उपभोक्ता अधिकार र खाद्य सुरक्षाको विषयलाई थप संवेदनशील बनाएको सरोकारवालाहरूको भनाइ छ । प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको स्वास्थ्यमा कुनै सम्झौता नगर्ने जनाएको छ ।
यस घटनाले व्यवसायीलाई गुणस्तर र स्वच्छताप्रति जिम्मेवार बन्न तथा उपभोक्तालाई सेवा छनोटमा थप सचेत हुनुपर्ने सन्देश दिएको छ ।




